२०८१ बैशाख ७ , शुक्रवार

दुई विदेशी फिल्मसँग भिड्दै ‘फूलबारी’

 

सुनाखरी न्युज/ काठमाडौं । शुक्रवार नेपाली सिनेमा हलहरुमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘फूलबारी’ र विदेशी फिल्मतर्फ बलिउड फिल्म ‘शेहजादा’, हलिउड फिल्म ‘एन्ट-म्यान एण्ड द वास्प: क्वान्टुमेनिया’ रिलिज भएका हुन्।

रामबावु गुरुङ निर्देशित ‘फूलबारी’ ले पारिवारिक कथावस्तुलाई समेटेको छ। ‍यस फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ। यशोदा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनिष ढकाल हुन्। कमल किशोर मलपानीको कथा र ‘कन्सेप्ट’ रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। बिहीवार भएको प्रिमियर शोमा यस फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको छ। त्यसैगरि, कार्तिक आर्यनको मुख्य भूमिका रहेको ‘शेहजादा’ पनि हलमा रिलिज भएको छ। रोहित धवन निर्देशित यस फिल्ममा कार्तिकका साथै कृति सेनन र मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ।

फिल्म ‘शेहजादा’ अल्लु अर्जुन, पूजा हेगडे स्टारर फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। कमेडी एक्सन जनरामा बनेको फिल्मले दुई बच्चा जन्मदै साटिएको र धनी परिवारको शिशु गरिब परिवारमा साटिदाँ ल्याउने उतारचढावको कथालाई समेटिएको छ। आजबाट रिलिज भएको हलिउड फिल्म ‘एन्ट- म्यान’ एक्सन, एडभेन्चर र कमेडी जनरामा निर्माण भएको हो। मार्भल स्टुडियोको बनाएको यस फिल्मलाई पेटन रीडले निर्देशन गरेका हुन्। फिल्ममा पल रुड र इवांगेलिन लिलीको मुख्य भूमिका छ। मुख्य पात्र पल रुड र इवांगेलिन लिलीले दर्शकलाई अनौठो दुनियाँमा लिएर जानेछन्।