२०८० चैत्र १५ , बिहिवार

बालाजु, लोत्से मलमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १५ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी र ल्होत्से मलमा तोडफोड गरी मोवाइल पसलमा लुटपाट समेत भएको घटनामा संलग्न रहेको अभियोगमा १५ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमध्ये लोत्से मलमा भएको घटनामा संलग्न काभ्रे पाँचखालका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत र मोरङका ३० वर्षीय यमन राई रहेका छन् । यसैगरी उक्त आगजनी तथा तोडफोडमा संलग्नहरूमा नुवाकोटका १९ वर्षीय केशर राई, धादिङका २६ वर्षीय ईलाराज गुरूङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, चितवनका २७ वर्षीय संविधान परियार, काठमाडौं तार्केश्वरका १९ वर्षीय कविन खड्गी, काठमाडौं माछापोखरी बस्ने २२ वर्षीय रोमन नगरकोटी र ३३ वर्षीय माधव शाही रहेका छन् । यसैगरी पक्राउ पर्नेमा नुवाकोटका २ जना १८ वर्षीय किशोर, धादिङका १८ वर्षीय किशोर र सिन्धुलीका १८ वर्षीय किशोर रहेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायिहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शनमा भएको उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै पक्राउ परेकामध्ये अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि विभिन्न आपराधिक घटनामा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

 

उनीहरू उपर आपराधिक उपद्रव गर्न नहुने कसूर र चोरी सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि प्रहरी वृत्त बालाजु र महाराजगंज पठाइएको छ । यसअघि सोही घटनामा संलग्न १० जनालाई समेत प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।