२०८१ जेठ ४ , शुक्रवार

ग्यास सिलिण्डर दुर्घटनाबाट बच्न के गर्ने ?

सुनाखरी न्युज/ काठमाडौं । कुनै बेला सरकारको नेतृत्व गर्नेहरुले नै घर–घरमा ग्यास पाइप पु¥याउने भन्दै सार्वजनिक अभिव्यक्ति नै दिन्थे । समयक्रमसँगै यस्ता अभिव्यक्ति आउन छाडेपनि ग्यासको प्रयोग एकपछि अर्को गर्दै बढ्दो क्रममा नै देखिन्छ ।

 

तराईका सुगम क्षेत्रदेखि हिमाली जिल्लाका दुर्गम स्थानमा समेत ग्यास पुग्न थालेको छ । तर, ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र सुरक्षाका विषयमा जनचेतना फैलाउन नसक्दा हुने गरेका दुर्घटनाका कारण मानिसले ज्यान गुमाउनेदेखि अङ्गभंग हुने सम्मका घटना सार्वजनिक हुँदै आएका छन् । भान्सादेखि विभिन्न काममा प्रयोग हुने ग्यास तथा विद्युतिय उपकरण प्रयोगमा सावधानी अनपनाउन नसक्दा ज्यान गुमाउनेदेखि अङ्गभङ्ग हुने सम्मका घटना सार्वजनिक भइरहेका छन् । मानविय त्रुटीबाहेक कतिपय अवस्थामा म्याद गुज्रिएका सिलिण्डर देखि कमसल खालका विद्युतिय उपकरणका कारण समेत यस्ता घटना हुने गरेको पाइन्छ ।

 

खाना पकाउने ग्यासले निम्त्याउने दुर्घटनामा प्रयोगकर्ताको असावधानी र उत्पादक तथा बिक्रेताको बदमासी समेत कारण देखिन्छ । बजारमा ग्यास सिलिन्डर प्रयोगकर्ता दिन प्रति दिन बढ्दो क्रममा भएपनि यसबारे सर्तकता अपनाउन नेपाल आयल निगमको सुझाव छ । यस्ता दुर्घटना केहि प्रयोगकर्ताका गल्तीका कारण त कतिपय प्रविधिक त्रुटिका कारण हुने गरेका छन् । प्रयोगकर्तालाई ग्यास सिलिन्डरको म्याद, गुणस्तर तथा प्रयोग गर्ने विधिका कारण पनि दुर्घटनामा पर्ने गरेको नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेको दाबी छ । यता, यस्ता घटनाको न्यूनिकरणका लागी सम्वन्धीत निकायले विशेष ध्यान दिनु पर्ने उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ ।

 

ग्यास सिलिण्डरको म्याद सहजै हेर्न र पत्ता लगाउन सक्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। सिलिण्डरको माथिल्लो भागमा भएका ३ वटा साइडको भित्रपट्टी सिलिण्डरको म्याद लेखिएको हुन्छ । जसमा सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ । त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ । ए, बी, सी र डीले अंग्रेजीमा क्रमशः ३–३ महिना जनाउँछ । त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ ।

 

जस्तै २० अंक लेखिएको भएमा त्यसको म्याद २०२० सम्म हो भन्ने बुझ्नु पर्छ । यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सक्छन् । यसरी सचेतता र सावधानी अपनाएमा हुने दुर्घटनाबाट बच्न सकिन्छ । भने, विद्युतिय उपकरणको प्रयोगमा समेत विशेष ध्यान दिन जरुरी छ ।