२०८१ बैशाख ८ , शनिवार

ग्यास लिक भएको थाहा पाएपछि के गर्ने, के नगर्ने ?

सुनाखरी न्युज/काठमाडौ । घर, कार्यालय या कतै ग्यास लिक भएको थाहा पाएमा के गर्ने ? हामीमध्ये धेरैलाई यसबारे ज्ञान नहुन सक्छ । अझ यस्तो अवस्थामा सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने प्रबल सम्भावना हुन्छ । यस्ता आपत्कालिन अवस्थामा स्पष्ट विचार आवश्यक हुन्छ । आफू शान्त भएपछि आफू वरपर रहेकाहरूलाई पनि शान्त हुन मद्दत पुग्छ ।

 

घरमा रहेका आगोका सबै श्रोतहरू जस्तै धूप, दीयोहरू निभाउनुहोस्। घरपालुवा जनावरसहित सबैलाई घरबाहिर पठाउनुहोस् । रेगुलेटरको भल्भ बन्द गर्नुहोस् । यस्तो गर्दा ग्यास लिक भएको आवाज आएमा त्यो रेगुलेटरमा खराबी छ भन्ने बुझ्नुहोस् । त्यसपछि सिलिण्डरबाट रेगुलेटर निकाल्नुहोस् । रेगुलेटर निकाल्नेवित्तिकै इनबिल्ट सिलिण्डर भल्भ आफैं बन्द हुन्छ र यसले चुहावट पनि रोक्छ । यो ग्यास चुहावट रोक्नका लागि सबैभन्दा राम्रो तरिका हो ।

 

कोठाको झ्याल खोल्नुहोस् र आपतकालीन नम्बरमा फोन गरेर स्थितीबारे रिपोर्ट गर्नुहोस् । यदि तपाईं अझै शंकामा हुनुहुन्छ भने, घरबाट बाहिर निस्कनुहोस्। त्यस्तो समयमा आगो निस्किरहेको देख्नुभयो भने, आगो निभाउन र अक्सिजन आपूर्ति कटौती गर्न कम्बल जस्तो ठूलो कपडा प्रयोग गर्नुहोस्। त्यसपछि तपाईं सिलिन्डरबाट रेगुलेटर हटाउन अगाडि बढ्न सक्नुहुन्छ ।

यस्तो अवस्थामा कुनै पनि विद्युतीय उपकरण वा फ्यानहरू अन नगर्नुहोस्। स्विचहरूले प्रायः आन्तरिक विद्युतीय स्पार्कहरू दिन्छ जसले विस्फोट गर्न सक्छ । चलिरहेको कुनै पनि उपकरण बन्द नगर्नुहोस् । यसले पनि विद्युतीय स्पार्कको जाेखिम हुन्छ । यदि अँध्यारो छ भने आफ्नो फोनको टर्च प्रयोग गर्नुहोस्।