२०८१ बैशाख ८ , शनिवार

सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

सुनाखरी न्युज/ काठमाडौं ।
आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । बिहीबार दिउँसो सांसद भण्डारीलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो ।

मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उनको उपचार हुने भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिए । ग्यास लिकपछि आगलागीबाट घाइते भएका भण्डारीलाई मुम्बईसम्म पुर्‍याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको ‘मेडिकल एयर इभ्याक्युएसन’ टोली संलग्न छ ।

सघन उपचार विशेषज्ञ डा. प्रदीप तिवारीको नेतृत्वको मेडिकल टिमले यात्राभर भण्डारीको निगरानी राख्ने छ । स्वास्थ्यकर्मीहरूको उक्त टोलीमा नर्भिक अस्पतालकै डा. बृहस्पति केसी, डा. रोशन शर्मा तथा पारामेडिक्सहरू दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

 

चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान किर्तिपुर अस्पतालका चिकित्सकहरुले सिफारिस गरेका थिए ।

सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।