२०८१ बैशाख १३ , बिहिवार

कसरी भयो सांसद् भण्डारीको निवासमा घटना ?

सुनाखरी न्युज/काठमाडौ । नेपाली कांग्रेसका नेता एवं सांसद् चन्द्र भण्डारीको घरमा ग्यास सिलिण्‍डर विस्फोट भएको छ । विस्फोटबाट घाइते भएकी नेता भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ। उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

 

सोही घटनामा घाइते भएका भण्डारीको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि मुम्बई लगिएको छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बइस्थित नेसनल स्किन वर्न अस्पताल लगिएको हो। उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृत्रिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो। उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ। प्रहरीले घटनामाथि अनुसन्धान थालेको छ। घटना बुधबार राति १० बजेतिरको हो । बुद्धनगरस्थित चन्द्रकी आमा हरिकला खाना खाएर भान्सा कोठा बन्द गरी बैठक कोठामा आराम गरिरहेकी थिइन् । चन्द्र बाहिरै खाना खाएर निवास पुगेका थिए । घरको माथिल्लो तलामा चन्द्रका भाइ बुहारी बस्छन् । नेता भण्डारीले भाइ बुहारीलाई गेट बन्द गराएको जानकारी गराएर सुत्ने तयारीमा थिए ।

 

भाइ बुहारीले केही पड्केको जस्तो आवाज सुने । लगत्तै उनीहरू तल्लो तलामा झरे । जहाँ चन्द्र र उनकी आमा बस्छन्। भण्डारीकी भाइ बुहारी जानुका भण्डारीले भान्साको छेउमै आमा जल्दै गरेको देखिन् । भाइले अवस्था भयावह देखेपछि हारगुहार गरे । बैठक कोठाकै छेउमा चन्द्रको शरीरमा आगो दन्किरहेको थियो । उनी आमालाई बचाउ बचाउ भन्दै कराउँदै थिए। ‘उहाँ(चन्द्र)ले आगो लाग्दा लाग्दै आफ्नो कोठामा गएर शरीर सिरकले छोप्नुभयो । त्यसपछि त्यहि पल्टिनुभयो ।’ यता हरिकला हरे राम हरे राम भन्दै कराउँदै थिइन्। ‘मैले आमा आमा भन्दा उहाँले हरे राम हरे राम भनिरहनुभएको थियो । आमाको शरीरमा आगो थियो, आमालाई छुन सकिनँ,’ जानुकाले भनिन्, ‘म त्यहाँ जाँदा आमा लडिरहनुभएको थियो । नजिकैबाट आगो निभाउन एक बाल्टिन पानी खनाए ।’

 

ग्यास लिक भएपछि सबै कोठामा आगो लागेको एक प्रत्यक्ष दर्शीले बताएका छन्। राति एक्कासी ठूलो आवाज आएपछि घर बाहिर निस्किदा छेउमै रहेको सांसद भण्डारीको घरबाट चिच्याएको आवाज आएको ती प्रत्यक्ष दर्शीले बताए। उनले भने, ‘भित्र जाँदा माननीय भण्डारीले बैठक कोठाबाट मलाई लैजाओ लैजाओ भन्नुभयो, ‘तुरुन्तै गाडीमा हालेर उहाँलाई सिभिल अस्पताल लगियो । आमालाई प्रहरीको गाडीबाट लगियो।’