२०८० चैत्र १६ , शुक्रवार

सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

सुनाखरी न्युज / काठमाडौं –  ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको विमानमार्फत उनलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो ।

 

चिकित्सकले नेता भण्डारीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उनलाई भारतको मुम्बई लगिएको हो । अब भण्डारीको उपचार मुम्बईको नेशनल बर्न सेन्टरमा हुनेछ ।नेता भण्डारीले नेपालमै उपचार गर्ने चाहना राखेका थिए । यद्यपि, स्वास्थ्यमन्त्री पदम गिरीले अस्पतालमा पुगेर नेता भण्डारी र चिकित्सकसँगको भेटपछि भण्डारीलाई थप उपचारका लागि भारत लैजान मनाएका थिए ।

 

चन्द्रको शरीर ३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चन्द्रका दुवै हात गोडा र अनुहार जलन भएको छ । स्वास नलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको अस्पतालका चिकित्सकद्वय डा। किरण नकर्मी र डा। निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो अवस्थामा सुविधासम्पन्न अस्पतालमा उपचार गर्नु राम्रो हुने चिकित्सकले सुझाव दिएका थिए ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो । हरिकलाको भने निधन भइसकेको छ ।