२०८१ बैशाख ७ , शुक्रवार

छोटो समयमै गायनमा चर्चित अर्जुन सापकोटा

सुनाखरी न्युज/काठमाडौ । कुनै समय थियो, गीत संगीतका लागि काठमाडौंमा लामो समय संर्घष गर्नुपर्ने । एउटा गीत गाउनै लागि वर्षौं कुर्नुपर्ने । तर , प्रविधिको विकासले मोफसलबाट पनि दर्शक श्रोताको मन जित्न सकिन्छ भन्ने उदाहरण हुन् लोकगायक अर्जुन सापकोटा ।

 

२४ वर्षीय सापकोटा लोक संगीतको क्षेत्रमा आएको ४ वर्षमा नै दर्शक श्रोताको नजरमा पर्न सफल भएका छन् । मोफसलमा नै बसेर उनले योबीचमा दर्जनौं म्युजिक भिडियो र गीत संगीतमा श्वर दिएका छन् । ‘वनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘दुई दुना चार’जस्ता गीतले युट्युबमा १ करोडभन्दा बढी भ्युज पाएका छन् । मोफसलमा बसेर पनि लोक संगीतको क्षेत्रमा छोटो समयमा नै चर्चामा आउन सफल भएका सापकोटालाई अहिले मेला महोत्सवमा भ्याइनभ्याइ छ । सानै उमेरदेखि गीत संगीतमा रुचि भए पनि सापकोटाले औपचारिक संगीतकर्म भने ४ वर्षअघि आफ्नै युट्युब च्यानलमार्फत देवी घर्ती मगरसँगको श्वरमा ‘वनकी चरी’ गीत सार्वजनिक गरेका थिए । जसले उनलाई नेपाली लोक संगीत क्षेत्रमा चर्चामा ल्यायो । १ करोडभन्दा बढी पटक हेरिएको यो गीत नै उनका लागि कोशेढुंगा सावित भयो ।

 

कला क्षेत्रमा स्थापित हुन कठिन भएको उनको भनाइ छ । ‘नेपालमा लोक संगीतको भविष्य उज्ज्वल छ । यो हाम्रो पहिचान पनि हो । तर क्षणभरमा नै यो क्षेत्रमा स्थापित हुन कठिन छ, ’उनले भने,‘ प्रतिभा भएर पनि ओझेलमा परेका मोफसलका संगीतकर्मीलाई हामी सबैले सहयोग गर्नुपर्दछ । म पनि संर्घषको पाटो छिचोल्दै आज यहाँसम्म आएको हुँ ।’केही समय जिल्लाको चोरमारामा रहेको रेडियो दर्पणमा कार्यक्रम प्रस्तोताका रूपमा समेत काम गरेका थिए । लोकगायक सापकोटाको ‘दसैं आयो’, ‘जन्मेकै गाउँ रोयो’ ‘सिमलैमा मैना’, ‘नगर पीर माया’, ‘पिरती नलाम माया’ ले पनि दर्शक श्रोताको मन जित्यो । समीक्षा अधिकारीसँग गाएको गीत ‘पछ्यौरी लिसियो’ निकै नै चर्चित बन्यो । यो गीतमा संगीतसमेत सापकोटाकै रहेको छ । जसले युट्युबमा तीन करोडभन्दा बढी भ्युज पाएको छ ।