२०८० चैत्र १६ , शुक्रवार

नदी प्रवाहमा आधारित आयोजनाको पीपीएका लागि प्राधिकरणले दियो १५ दिने म्याद

सुनाखरी न्युज/ काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई विद्युत् खरिद सम्झौता (पीपीए) गर्न बोलाएको छ ।

 

प्राधिकरणले विद्युत् जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) का आधारमा पीपीए गर्न बोलाएको हो ।१५ सय मेगावाटसम्मको पीपीए खुलाएको प्राधिकरणले १५ दिनभित्र पीपीएका लागि आवेदन दिन अनुरोध गरेको छ । विद्युत् प्रवर्द्धकले ग्रिड सम्झौता भएको रोलक्रमअनुसार १५ दिनभित्र पीपीए गर्न आवेदनका साथ सम्पर्क गर्नुपर्ने प्राधिकरणले जनाएको छ । ग्रिड एग्रिमेन्टका आधारमा पहिलो चरणमा ६६ वटा जलविद्युत् आयोजनाको पीपीए हुनेछ । गत माघ २६ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले पीपीए खोल्ने निर्णय गरेको थियो ।

 

नदी प्रवाहमा आधारित आयोजनाको साविक ३५ प्रतिशत (५२५० मेगावाट) बाट १० प्रतिशत (१५०० मेगावाट) सीमा वृद्धि भएको छ । अब ४५ प्रतिशत (६७५० मेगावाट) नपुगेसम्म सम्पूर्ण प्रावधान यथावत रहने गरी ग्रिड कनेक्सन सम्झौताका आधारमा पीपीए गरिने प्राधिकरणल जारी गरेको सूचनामा उल्लेख छ । प्राधिकरणले अहिलेसम्म ३१९२ मेगावाट क्षमताका १३६ जलविद्युत् आयोजनासँग प्रसारण सम्झौता गरेको छ ।