२०८१ बैशाख १३ , बिहिवार

चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौ । चोरी तथा डाँका सम्बन्धी कसूरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका संचालक तेह्रथुम अठराई गाउँपालिका-२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका संचालक कपिलवस्तु बाडगंगा नगरपालिका-१ घर भएका ३४ वर्षीय बिनोद पौडेल रहेका छन् ।

काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।