२०८१ बैशाख १३ , बिहिवार

ल्होत्से मलको मोबाइल लुटपाटमा संलग्न १५ जना पक्राउ

सुनाखरी न्युज / काठमाडौँ –   प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरू चोरी गर्दै गरेको देखिएका उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका एसएसपी मनोज केसीले बताए ।

 

उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन ।’ पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन ।

 

मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए । आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मौका छोपेर उनीहरूले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए । त्यसबेलाको भिडियो र फोटोहरूका आधारमा अनुसन्धान गरेर संलग्नलाई पक्राउ गरिएको एसएसपी डा। केसीको भनाइ छ ।