२०८१ बैशाख १२ , बुधवार

अब घर भाडामा दिँदा र भाडामुक्त हुँदा ७ दिनभित्र महानगरलाई जानकारी दिनुपर्ने

सुनाखरी न्युज/ काठमाडौ ।काठमाडौं महानगरपालिकाभित्रका घरबेटीले अब घर भाडामा दिँदा र घर खाली भएको सूचना महानगरपालिकालाई सात दिनभित्र दिनुपर्ने भएको छ ।

 

महानगरले ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । उक्त निर्देशिकामा घर बहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । बाँकी दुई प्रतिमध्ये एक÷एकप्रति भने सम्झौताकर्ताले राख्नुपर्नेछ ।

 

घर खाली भएको अर्थात् भाडामुक्त भएको जानकारी नगराएको खण्डमा भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर तिर्नुपर्ने हुन्छ । कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, सेड, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था महानगरले ल्याएको हो ।

घर बहालमा दिँदा गरिने सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गर्नुपर्नेछ । निर्देशिका अनुसार मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख गरेर बहाल रकम बुझाउने समय र प्रक्रिया वडा कार्यालयमा बुझाउनु पर्नेछ ।