२०८१ बैशाख २० , बिहिवार

सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको प्रश्नः गोंगबु घटना कसरी भयो !

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरक्षा अधिकारीसहितको बैठक राखेर बुधबार दिउँसो  प्रधानमन्त्रीले सोमबारको  घटनाको गहिरो अनुसन्धान गर्न र अन्यायमा परेकाले न्याय पाउने गरी कारबाही अघि बढाउन निर्देशन दिएका उनको सचिवालयले जानकारी दिएको छ ।

 

सोमबार दिउँसोदेखि यातायात मजदुरले गोंगबु क्षेत्रमा गरेको आन्दोलनका क्रममा यातायात अवरुद्ध पार्नुका साथै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलमा तोडफोड र त्यहाँको मोवाइल पसलमा लुटपाट भएको थियो । त्यस्तै आन्दोलनकारीले माछापोखरीमा प्रहरीका दुईवटा गाडी र प्रहरी विट जलाएका थिए ।

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताएका थिए ।

उनीहरुले घटनामा ३३ जना सुरक्षाकर्मी घाइते भएका, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको ब्रिफिङ गरेका प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

सुरक्षा अधिकारीहरुले घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएको समेत जानकारी गराएएका थिए ।