२०८१ बैशाख १४ , शुक्रवार

शिवरात्रीमा २० लाख दर्शनार्थीलाई पशुपतिनाथ दर्शन गराउने तयारी

सुनाखरी न्युज / काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आगामी शिवरात्रीको तयारी तीव्र पारेको जनाएको छ। बुधबार पत्रबार सम्मेलन गर्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले यो वर्ष २० लाख दर्शनार्थी आउने अनुमान गरेको बताए। उनले भने, ‘गत वर्ष करिब १४ लाख दर्शनार्थीले आराध्यादेव पशुपतिनाथको दर्शन गर्नुभएको छ। यो वर्ष २० लाखले दर्शन गर्ने अनुमान गरेका छौँ। २० लाख दर्शनार्थीले आराध्यादेवको दर्शन गरे त्यो हाम्रो उच्चतम सफलता हुनेछ।’

 

कोभिड, डेगुलगायतले विगतको शिवरात्रीका केही तिता अनुभव भएपनि यसवर्ष सकेसम्म व्यवस्थित र सुरक्षित बनाउन आफूहरू लागिपरेको खतिवडाले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा मूल समारोह समिति गठन भएको र सोही समिति मार्फत काम हुने उनले बताए। खतिवडाले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। त्यही मूल समारोह समितिले विभिन्न धार्मिक तथा अन्य समिति गठन गरी परिचालन गरिएको छ। अहिले ८ उपसमितिमार्फत विभिन्न क्षेत्रको काम भइरहेको छ। सजावटको काम, रंगरोगनको काम, बत्ती व्यवस्थापनको काम जारी छ। फूल व्यवस्थापनको काम चार र पाँच गते हुनेछ।’

 

शिवरात्रीका लागि ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय गरेर गर्ने कोषले जनाएको छ। शिवरात्रिमा राष्ट्रपति पशुपतिनाथ आउने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्था चुस्त बनाइने कोषले जनाएको छ। त्यस्तै शिवरात्रीमा पशुपति क्षेत्र परिसरमा कोषको बाहेक कुनैपनि लोगो, पर्चा, ब्यानर लान नपाउने व्यवस्था गरिएको कोषले जनाएको छ। त्यस्तै कोषले शिवरात्रिका लागि ८० लाख रुपैयाँ खर्च छुट्याएको छ। यो खर्च विवरण फागुन मसान्तसम्ममा सार्वजनिक गर्ने कोषले जनाएको छ।