२०८१ बैशाख १३ , बिहिवार

शिवमले ३ वर्षमा बेच्यो २८ अर्बको सिमेन्ट

सुनाखरी न्युज / काठमाडौं । शिवम् सिमेन्टले पछिल्ला ३ वर्षमा २८ अर्बको सिमेन्ट तथा क्लिंकर बिक्री गरेको छ। पब्लिक कम्पनीको रुपमा रहेको शिवमले गत आर्थिक वर्षमा ९ अर्ब २६ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको हो। चालू आर्थिक वर्षको ३ महिना साउनदेखि असोजसम्म १ अर्ब ५३ करोड रुपैयाँको बिक्री गरेको छ।

 

आर्थिक वर्ष २०७६/०७७ मा ९ अर्ब रुपैयाँको सिमेन्ट बिक्री गरेको थियो। आर्थिक वर्ष २०७७/०७८ मा ९ अर्ब ६१ करोड रुपैयाँको कारोबार गर्यो। कम्पनीको कारोबारमा ठूलो गिरावट नआए पनि नाफामा गिरावट आएको छ। २०७६/०७७ मा १ अर्ब १७ करोड खुद नाफा गरेको कम्पनीले ०७७/०७८ मा १ अर्ब ४१ करोड आम्दानी गरेको थियो। गत आर्थिक वर्षमा भने ६९ करोड रुपैयाँ मात्रै आम्दानी भएको छ। यो वर्षको ३ महिनामा भने २७ करोड रुपैयाँ कर तिरेपछिको नाफा रहेको छ।

 

सन् २००३ मा प्रा.लिको रुपमा स्थापना भएको कम्पनी २०१५ मा पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो। कम्पनीमा व्यक्तिगत लगानीसँगै मुख्य लक्की ग्रुप, सारडा ग्रुप र गोयल ग्रुपको लगानी रहेको छ। ८८ प्रतिशत लगानी शिवम् होल्डिङ प्रा.लिको रहेको छ। शिवम् होल्डिङले ३० प्रतिशत सेयर होङ्सी शिवम सिमेन्ट प्रा.लिमा छ। क्लिङ्कर उत्पादनका लागि नजिकै ४ वटा खानी रहेका छन्।