२०८० चैत्र १६ , शुक्रवार

आमा समुहलाई क्षमता विकास तालिम कार्यक्रम

केके मानन्धर/ काठमाडौं ।  ललितपुरको अग्निशालास्थित मां पुचःमा आवद्ध महिलाहरुलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ ।

 

ललितपुर महानगरपालिका वडा नं. १९ को लागत साझेदारीमा बीस वर्षको विरासत भएको मां पुचःले एकहप्ते तालिम सञ्चालन गरेको हो । आमा समुहलाई स्थानिय भाषामा मां पुचः भनिन्छ । तालिम कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष राजेन्द्र महर्जनले स्थानिय महिला दिदीबहिनीहरुको लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने कार्यक्रम आवश्यक रहेको जनाए । ‘लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास लिएको छु । उद्घोषण र सिलसिला मिलाएर बोल्ने शैली सिकेर महिलाहरुले पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउनेछ ।’ महर्जनको भनाइ थियो ।

त्यस्तै, तालिम कार्यक्रमको लागि प्रशिक्षकको जिम्मेवारी पाएका सञ्चारकर्मी केके मानन्धरले अन्तर्निहीत क्षमताको विकासले व्यक्तिको वास्तविक पहिचान स्थापित गराउने बताए । ‘सिलसिला मिलाएर बोल्ने क्षमता सबैसँग हुन्छ, तर सही सदुपयोग नहुँदा मान्छेको व्यक्तित्वमा प्रभाव परिरहेको हुन्छ । तालिम कार्यक्रमबाट यही क्षमतालाई तिखार्ने मौका प्राप्त हुन्छ ।’ मानन्धरले बताए । कुमारीपाटीदेखि पाटनको पुरानो बस्ती प्रवेश गर्ने टोलमा अवस्थित वडा कार्यालयको सभाहलमा माघ २९ देखि सञ्चालन भइरहेको तालिम कार्यक्रम फागुन ६ गते शनिबार समापन हुँदैछ । क्षमता अभिवृद्धि तालिम कार्यक्रममा वडाध्यक्ष राजेन्द्र महर्जन, वडा सदस्यहरु निर्मला खड्गी र प्रविन श्रेष्ठ पर्यवेक्षकको रुपमा सहभागी छन् । कार्यक्रमलाई वडा सदस्य निर्मला खड्गीले समन्वय गरेकी छन् ।

रेणु महर्जन संयोजक र रेविका महर्जन अध्यक्ष रहेको मां पुचःमा छोरीहरुलाई समेटेर म्ह्याय् पुचः, किशोर किशोरीहरुलाई समेटेर मचा पुचः समेत बनाइएको छ । संस्थाले महिलाहरुको क्षमता तथा सीप विकास सम्बन्धिको तालिम दिने, उद्यमशीलता प्रवद्र्धनको लागि विभिन्न ठाउँमा अस्थायी पसल सञ्चालन गर्नेदेखि महिला तथा बालबालिकालाई हकअधिकार दिलाउने, सचेतनात्मक लगायतका कार्यक्रम गर्दै आएको छ । मां पुचःले सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केहीदिन अघि महानगरपालिकाको १९ वडाले सञ्चालन गरेको ‘आफ्नो ठाउँ आफै सफा गरौं’ नारा दिइएको अभियानमा समेत सहकार्य गरेको थियो । चारदिने सरसफाइ अभियान अन्तर्गत ईखा, धौमाकु गल्ली, तिछुगल्ली ईकु बहाननिमा सफाइ गरेको थियो ।