२०८१ बैशाख १३ , बिहिवार

पहाडी क्षेत्रमा पाइने शिलाजितका के छन् फाइदा ?

सुनाखरी न्युज / काठमाडौं । विशेषगरी उच्च पहाडी क्षेत्रमा पाइने शिलाजितलाई शक्तिवर्द्धक खनिज पदार्थ मानिन्छ । यसका धेरै फाइदा हुने भएकाले आयुर्वेदले शिलाजितलाई रसायन भनेको छ । साधारणतया धेरैले शिलाजितलाई यौन क्षमता बढाउने औषधि भनेर चिन्छन् ।

 

शिला अर्थात् चट्टानबाट निस्किएको खनिज भएकाले यसलाई शिलाजित नाम दिइएको बताइन्छ । यसमा डिबेन्जो–ए–पाइरोन्स, प्रोटिनजस्ता ४० खनिज तत्व हुन्छन् । सूर्यको प्रत्यक्ष किरण पर्ने भीरपाखा र चट्टानमा शिलाजित पाइन्छ । नेपालको मध्य र पश्चिमी हिमाली जिल्लामा शिलाजित पाइन्छ । त्यसमध्ये पनि जुम्ला र मुगुमा यो धेरै उपलब्ध हुन्छ । सूर्यको तापले पहाडको चट्टानको धातु पग्लिएर शिलाजित बन्छ ।

 

शिलाजितले छिटो बुढ्यौली आउन नदिने, रोगप्रतिरोधी क्षमता बढाउने, रगत शुद्धीकरण गर्ने, यौनशक्ति बढाउने कार्य गर्छ । यो पिसाबसम्बन्धी रोग, एनेमिया, अल्जाइमर, मधुमेह, उच्च रक्तचापका बिरामीको लागि रामवाण नै मानिन्छ । शिलाजितमा पाइने फुलभिक एसिडले एन्टीअक्सिडेन्ट र इन्फ्लेमेटरीको रूपमा काम गर्छ । जसको नियमित प्रयोगले बुढ्यौली लक्षण जस्तै आँखाको दृष्टि शक्ति, कानको सुन्ने शक्ति बढाउनेदेखि छाला स्वस्थ राख्ने काममा शिलाजितको ठूलो भूमिका हुन्छ ।