२०८१ बैशाख १४ , शुक्रवार

लमजुङको भुजुङमा ‘नम्बरी सुन’

सुनाखरी न्युज / काठमाडौं । गुरुङ फिल्म र सानो पर्दाको भिडियो फिल्म निर्माण हुँदै आएको पर्यटकीय गाउँ भुजुङमा ठूलो पर्दाको फिल्मले छायांकन डेब्यु मारेको छ। ढुंगाले छाएका परम्परागत घर, जोडिएका आँगन, गुजुमुज्ज परेको गाउँ भुजुङ करिब एक हजार दुई सय वर्षअघिको मानिन्छ। लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३२ किलोमिटर टाढा समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित ऐतिहासिक गाउँमा नेपाली कथानक फिल्म ‘नम्बरी सुन’ छायांकन भइरहेको छ।

 

‘यो कुनै बनावटी गाउँ होइन। हामीलाई पौराणिक गाउँ चाहिएको हो। खोज्दै जाँदा हाम्रो नजरमा भुजुङ पर्‍यो,’ निर्देशक राजु गिरीले भने। नारायण खातीको कथा तथा प्रस्तुति रहेको फिल्म सुवर्ण शिभान्स फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो। ‘सुनको विषयलाई लिएर पहिलोपटक फिल्म बन्दैछ। यो ७० वर्षअघिको हाम्रै गाउँघरको कथा हो’ कथाकार खातीले भने। फिल्मका ३ वटा गीत काठमाडौं, लमजुङ र मनाङमा छायांकन हुने जनाइएको छ। अन्य ९० प्रतिशत दृश्य भने भुजुङमा छायांकन गरिने भएको हो।

 

गौरव पहारी र नम्रता सापकोटाको प्रमुख अभिनय रहेको ‘नम्बरी सुन’ मा सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, स्मृति ओली, सविन बाँस्तोला, विनोद न्यौपानेलगायत कलाकारको अभिनय छ। फिल्ममा राजेन्द्र खड्गीको ‘कमब्याक’ भएको छ। किरण नेपालीले प्रमुख खलपात्रको भूमिका निर्वाह गर्नेछन्। सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेको फिल्मलाई दिव्य सुवेदीले छायांकन गरिरहेका छन्। अर्जुन पोखरेल र सन्तोष श्रेष्ठले फिल्मको गीतमा संगीत भरेका छन्। रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् भने देव महर्जन फिल्मका द्वन्द्व निर्देशक हुन्।