२०८० चैत्र १५ , बिहिवार

जोमसोमबाट पोखरा जाँदै गरेको बस लेतेमा दुर्घटना

सुनाखरी न्युज / काठमाडौं । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ ।

 

दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक हबल्दार कृष्ण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार विहान साढे ८ बजेतिर लेतेको धम्पुस स्थित सडकबाट बस ४० मिटर तल खसेर कालिगण्डकी नदीमा पुगेको छ । दुर्घटनाको खबर लगत्तै जोसोमबाट प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेल सहित प्रमुख जिल्ला अधिकारी,नेपाली सेना र प्रहरी सहितको टोली घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरिएको छ ।

 

दुर्घटनाका घाइतेलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भिर घाइते भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफेर गरिएको प्रहरीले जनाएको छ । वाँकी ८ जनाको स्वास्थ्य चौकीमै उपचार भइरहेको छ । निर्माणधिन सडक भएकाले साघुरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा म्याग्दी, पोखरा र भारतीयहरु सवार रहेको प्रहरीको भनाई छ । दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।