२०८१ बैशाख ११ , मंगलबार

साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ: प्रधानमन्त्री दाहाल

सुनाखरी न्युज / काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ ।

 

काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहजरुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो ।

 

“सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवद्र्धन र संरक्षण गर्न आवश्यक छ । त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । केही दशकअघि नेपालले कृषिउपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताउनुभयो । “हामी पाँच दशक अघि खाद्यान्न निर्यात गर्थ्यौं । नेपालमा कृषिमा आधारित उद्योग बढी फस्टाउन सक्ने देखिएको छ । मौलिक उत्पादनलाई बजारीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।

 

लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि दाहालले बताउनुभयो । त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने बताउनुभयो । अहिले मुलुक वित्तीय सङ्कटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । “तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको छ । अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन ।” दाहालले भन्नुभयो ।

 

सोही कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालको परम्परागत सीपलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभयो । “निर्यात प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेको आवश्यकता हो । हाम्रो पुरानो सीपलाई व्यवसायीकरण गरेर आत्मनिर्भर बन्ने मात्र होइन हामी निर्यात प्रवद्र्धनमा पनि लाग्नुपर्छ । नेपालमा उत्पादित वस्तुले बजार पाउन थालेको छ । तपाईँहरू उत्पादन बढाउनतिर लाग्नुहोला ।” मन्त्री चौधरीले भन्नुभयो । बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङले मौलिक र स्वदेशी उत्पादनको बजारीकरणका लागि प्रदेश सरकारले भूमिका खेल्ने बताउनुभयो । “व्यापार प्रवद्र्धनमा सरकारी नीतिको पनि महत्वपूर्ण भूमिका रहन्छ । हामीलाई हाम्रो पुस्ताले दिएको सम्पत्ति भनेको कला र संस्कृति हो । त्यसलाई व्यवसायीकरण गर्न प्रदेश सरकार सबै खालका सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो ।

 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ । मेलामा करिब दुई लाखले अवलोकन गर्ने र रु आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ ।