२०८१ बैशाख १३ , बिहिवार

नामिबियामाथि नेपालको एतिहासिक जित

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियालाई हराएको छ ।

मंगलबार भएको खेलमा कुशल भुर्तेलको शतकमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाउँदै २८७ रन बनायो ।

नेपालले एकदिवसीय क्रिकेटमा बनाएको यो सर्वाधिक रन पनि हो । नेपालका लागि कुशलले शतकीय पारी खेले । ११३ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाए ।

नेपालका लागि रोहित कुमार पौड्लले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । नेपालका लागि सन्दीप जोराले २८ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे । त्यस्तै करण केसीले २० रन बनाए ।

नामिबियाका लागि रुबेन र कार्ल ब्रेनस्टोकले तीन तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो ।

नामिबियका लागि भान लिंगेनले शतकीय पारी खेले । १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए । गेहार्ड इरमुसले अर्धशतकीय पारी खेले । ७९ बल खेल्दै २ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए ।

त्यस्तै जेन ग्रिनले ३४ रन बनाउँदा जान फ्रिलिङ्कले १५ रन जोडे । नेपालका लागि करण केसीले पाँच विकेट लिए । एकदिवसीय क्रिकेटमा करण एकै खेलमा पाँच विकेट लिएको तेस्रो पटक हो ।

त्यस्तै सन्दीप लामिछानेले तीन विकेट लिँदा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ ।