२०८१ बैशाख १३ , बिहिवार

सांसदका आवाज जनतासम्म पुर्‍याउन आफ्नै टिभी चलाउनुपर्छ : प्रदीप यादव

सुनाखरी न्युज / काठमाडौँ — जनता समाजवादी पार्टीका सांसद प्रदीय यादवले छुट्टै संसद् टेलिभिजन च्यानलको माग गरेका छन् । सांसदका आवाजहरू जनतासम्म पुर्‍याउनका लागि छुट्टै संसद् टेलिभिजन चाहिने सांसद यादवको माग छ ।

 

मंगलबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा आफ्ना कुरा राख्दै मिडियामा सबै सांसदको कुरा नआउने उल्लेख गर्दै सांसद यादवले अन्य मुलुकमा जस्तै नेपालमा पनि संसद्को छुट्टै च्यानल हुनुपर्ने बताएका हुन् । उनले भारतको उदाहरणसमेत दिएका थिए । भारतमा पहिले लोकसभा र राज्यसभाका प्रत्यक्ष प्रसारण गर्ने छुट्टाछुट्टै टीभी च्यानल थिए ।

 

तर २०२१ देखि दुवै टेलिभिजन च्यानललाई गाभेर संसद् टीभी बनाइएको छ ।उनले भने भारतमा पनि विधान सभा र लोकसभाको आफ्नै टिभी छ । हाम्रो संसद्मा बोलेको कुरा दुई चार जनाको मात्र समाचारमा जान्छ । हाम्रो पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको टिभीको व्यवस्था गर्नुपर्‍यो । ठुला नेताले बोलेको कुरा मात्र समाचारमा जान्छ । सबैको कुरा जनतासमक्ष पुर्‍याउन आफ्नै टिभीको आवश्यक छ ।यस्तै उनले संसद्‍को पोसाक सभामुखले निर्धारण गरेबमोजिम हुने भन्ने व्यवस्था नगर्न आग्रह गरे । बरु मर्यादित पोसाक भन्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।