२०८१ बैशाख ८ , शनिवार

ईन्टरनेट सेवा गुणस्तरीय बनाउ, तिरेको शुल्क अनुसारको सेवा देउ

सुनाखरी न्युज/  पोखरा । हाल उपभोक्ताहरुले प्रयोग गरिरहेको ईन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । कार्यक्रमका वक्र्ताहरुले ईन्टरनेट सेवा गुणस्तरीय बनाउन र तिरेको सुल्क अनुसारको सेवा पाउनुपर्ने माग समेत गरेका छन् ।

ईन्टरनेट सेवा प्रदायकहरुको नियमन गर्ने संस्था नेपाल दुरसञ्चार प्राधिकरण काठमाण्डौले पोखरामा सोमबार आयोजना गरेको ‘अनुमती पत्रका शर्तहरुका सम्बन्धमा ईन्टरनेट सेवा प्रदायकहरुसँग छलफल कार्यक्रम’ का सहभागी वक्ताहरुले सो गुनासो गरेका हुन । कम्पनीहरुले सेल्सपछिको सेवालाई गुणस्तरीय बनाउन नसकेको र सेवाको अनुमति लिँदा गरेको सेवासर्त अनुसारको गुणस्तरीय सेवा समेत नदिएकाले त्यसको प्रत्यक्ष मार उपभोक्तालाई परेको बताएका थिए । कम्पनीहरुले भने अनुसार सेवा दिए नदिएको सम्बन्धमा प्राधिकरणले निरन्तर निगरानी सगै अनुगमन गर्न र भने अनुसारको सेवा नदिनेहरुलाई कारवाहीको दायरामा ल्याउन उनीहरुले माग गरेका थिए ।

 

वक्ताहरुले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका थिए । कम्पनीहरुले आफनो क्षेत्र विस्तारलाई प्राथमिकतामा राख्ने तर दिने सेवाको गुणस्तरमा भने ध्यान नदिएको र तिरेको शुल्क अनुसारको सेवा समेत नपाएको गुनासो उनीहरुको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उपभोक्ताले शुल्क तिरे अनुसार सेवा नपाएको गुनासो गरेका थिए । सेवा सुरु अघि अनुमती दिदा कुन क्षेत्रमा कतिलाई अनुमती दिने हो प्राधिकरणले क्षेत्र हेरी सेवा संचालनको अनुमती दिन आचार्यको सुझाव थियो । एउटै क्षेत्रमा आवश्यक भन्दा बढी कम्पनीलाई सेवा संचालनको लागि अनुमती दिदा कम्पनीहरुको अस्वस्थ प्रतिस्प्रर्धा हुने र त्यसको मार उपभोक्तालाई परेको भनाई आर्चायको थियो । कम्पनीहरुले धेरै क्षेत्रमा आफनो पहुच पुरयाए पनि सेल्सपछिको सेवालाई भने ध्यान नदिएका कारण उपभोक्तहरु मारमा पर्ने सगै ठगिएकोे बताएका थिए । ग्राहकले पैसा तिरेपछि तिरेको पैसाअनुसारको सेवा पाउनुर्पो भनाई उनको थियो ।

 

महानगरले नगरका मुख्य बजार क्षेत्रका तारहरुलाई भुमीगत गर्न लागेको जानकारी दिदै आर्चायले हाल पोलहरुमा झुण्डीएका ८० प्रतिशत तारहरु अव्यवस्थित रहेको बताए । अव्यवस्थित तारहरु जुन जुन कम्पनीका हुन आ आफैले व्यवस्थित गरे ठिकै छ नभए महानगरले आफनो ढंगले त्यसलाई व्यवस्थापन गर्ने जानकारी उपस्थित कम्पनीका प्रतिनिधिहरुलाई गराएका थिए । नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्यले कम्पनीहरुले दिने भने अनुसारको सेवा नदिदा उपभोक्ताहरु मारमा परेको बताए । कसको क्षेत्र कहाँ हो ? त्यसको क्षमता कति हो ? कस्तो सेवा दिने हो ? त्यसको मापन गर्न आवश्यक रहेको भन्दै कम्पनीहरुले प्रसारण गर्ने विज्ञापनका आधारमा सेवा लिदा उपभोक्ताहरु मर्कामा परेको गुनासो गरेका थिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले कम्पनीहरुले यस्तो सेवा र त्यस्तो सेवा भन्दै ग्राहकहरुसंग आफुहले भने अनुसारको सुल्क लिने तर लिएको सुल्क अनुसार भनेको सेवा भने नदिएको भन्दै गुनासो गरेका थिए ।

 

 

सडक, विधृत, सेवा प्रदायक संस्थाबीच समन्वय नहुँदा उपभोक्ताले सहज सेवा पाउन नसकेको गुनासो समेत उनको थियो । आफनो सेवालाई जती गुणस्तरीय बनायो व्यवसाय समेत सोही अनुसार बढदै जाने भएकाले प्रदान गर्ने सेवाको गुणस्तरमा ध्यान दिन कम्पनीहरुलाई उनको आग्रह थियो । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले कम्पनीहरुले आफनो क्षेत्र विस्तारमा जसरी ध्यान दिएका छन् सो अनुसार प्रदान गर्ने सेवामा ध्यान नदिएको बताए । ग्राहकहरुले सुल्क बुझाउन एक घण्टा ढिलो भयो सेवा बन्द गरिदिने तर आफुले जती समय सेवा दिने भनेर सुल्क लिएको हो सो अनुसार दिने नगरिएको भन्दै गुनासो गरेका थिए । विभिन्न कारणले बन्द भएको सेवाको समयको सुल्क घटाउन उनको माग थियो । कमजोर पुर्वाधार, प्राविधिकहरुको अभाव र भएकाहरुलाई समेत दक्ष बनाउन नसक्दा सेवामा समस्या आएको भनाई उनको थियो । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले कम्पनीहरुले दिने भने अनुसारको सेवा ग्राहकले पाउनुपर्ने र दिन्छु भने अनुसारको सेवा दिन कञ्जुस्याईं गर्न नहुने बताएका थिए ।

 

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले लाईसेन्स लिदा कम्पनीहरुले जुन सेवा दिने भनेका छन् सो अनुरुपको सेवा दिनुपर्ने बताएका थिए । गरेको शर्तअनुसारको सेवा नदिने कम्पनीहरुलाई कारवाहीको दायरामा ल्याउने भन्दै पौडेलले यस्का लागि कार्यालयले अनुगमन गरिरहेको बताएका । यस प्रकारको कार्यक्रम देशका सातै प्रदेशमा आयोजना गर्ने जानकारी दिदै पौडेलले पोखरा अघि दाङमा अघिल्लो साता कार्यक्रम सम्पन्न गरिएको बताए । प्राधिकरणका उपनिर्देशक सुनिता पाण्डेले सेवा सुरु अघि ईजाजत लिदा गरेको सर्त अनुसार सेवा प्रदायकले सेवा दिन र गरेको सर्त पालना गर्नुपर्ने बताईन । कम्पनीहरुले गरेको सेवाको सर्त पालनामा कन्जुस्याई गरेकाले सेवा प्रदायकहरुलाई जिम्मेवार बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको भनाई पाण्डेको थियो । हाल देशमा भ्वाईस अप्रेटर तीन र ईन्टरनेट सेवा प्रदान गर्ने १३० वटा कम्पनीहरु रहेको जानकारी दिईन् ।

 

सेवा प्रदायक भन्छन् करका कारण मारमा पर्यौ
उद्घाटन पछि भएको छलफल कार्यक्रममा सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुले करका कारण मारमा परेको बताएका थिए । सेवा संचालन वापत आफुहरुले भ्याट १३ प्रतिशत, टिडिएस १० प्रतिशत, रोयल्टी लगायत अन्य शिर्षकमा गरि ४० प्रतिशत कर बुझाउन परेक बताएका थिए । यती धेरै कर अन्य कुनै व्यवसायमा पनि नरहेको भन्दै उनीहरुले सरकारले इन्टरनेट सेवालाई अत्यावश्यक सेवा भनेपनि विलासिताको सेवा जसरि अन्य कुनै व्यवसायमा नभएको कर लिएको गुनासो उनीहरुको थियो । सरकारले करकारे दर घटाए आफुहरु समेत कम मुल्यमा सेवा दिन तयार रहेको भनाई उनीहरुको थियो । विधृत पोल प्रयोग वापतको सुल्क समेत धेरै रहेको, विजुलीको पोल सार्ने क्रममा पोलमा रहेको तारको व्यवस्थापनका लागि सम्बन्धीत कम्पनीहरुसंग समन्वय नहुने गरेको, जथाभावी तार काटिदिने गरेकाले समय समयमा सैवा संचालनमा अवरोध आयने गरेको गुनासो उनीहरुको थियो । यस अघि कार्यक्रमका वक्ताहरुले भने अनुसारको सेवा नदिएको भन्दै गुनासो गरेपनि कम्पनीका प्रतिनिधिहरुले आफुहरुले सर्त अनुसार सेवा सुविधा उपभोक्ताहरुलाई दिएको दाबी गरेका थिए ।