२०८१ बैशाख ८ , शनिवार

सुरक्षा पन्त स्टारर ‘बहाव’फिल्म चैत २४ मा आउने

सुनाखरी न्युज/ काठमाडौं । सुरक्षा पन्त र कमलमणि नेपालको प्रमुख भूमिका रहेको फिल्म ‘बहाव’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मको पोस्टरमा सुँगासहितको पिंजडालाई हातमा लिएकी सुरक्षा चित्रित छिन् । पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा नहेरी हातमा रहेको पिंजडाभित्रको सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको देख्न सकिन्छ । फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।

 

निर्देशक कँडेलले ‘बहाव’ नयाँ चीजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताए । उनले सुरक्षामार्फत फिल्मको थिमलाई प्रस्तुत गरिएको जानकारी दिए । अभिनेत्री पन्तले जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा फिल्मले प्रस्तुत गर्ने बताइन् । फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । पौडेलले आफ्नो स्वतन्त्रता आफैंमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताए ।

 

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी चैत २४ गते रिलिज हुँदैछ । फिल्ममा सुरक्षा र कमलमणिका साथै अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत तथा कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।