२०८१ बैशाख ४ , मंगलबार

होटल संघ नेपाल र उदयपुर होटल संघ भारतबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । कोभिडपछिको पर्यटनलाई बढावा दिने उद्देश्यले नेपालमा पर्यटन प्रवद्र्धन गर्न राजस्थान भारतबाट उदयपुर होटल संघका अध्यक्ष धीरज दोशीको नेतृत्वमा आएका प्रतिनिधि मण्डललाई होटल संघ नेपालले काठमाडौंमा आइतबार स्वागत गरेको छ ।

 

उक्त प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै होटल संघ नेपालका अध्यक्ष सृजना राणाले दुई देशबीचको पर्यटन प्रवद्र्धनमा सशक्त ढंगबाट काम गरिनुपर्ने बताउनुभयो । उहाँले उदयपुर होटल संघका अध्यक्षमार्फत नेपालमा भारतीय पर्यटकहरुलाई भ्रमणका लागि प्रचारप्रसार गरिदिन आग्रह गर्दै नेपालको सातै प्रदेशलाई समेटेर तयार पारिएको नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धी पुस्तक हस्तान्तरण गर्नुभयो ।

 

उदयपुर होटल संघ भारतका अध्यक्ष दोशीले होटल संघ नेपालले गरेको आतिथ्यताको सराहना गर्दै आगामी दिनमा होटल संघ नेपालसँग सहकार्य गर्दै दुई देशबीचको पर्यटन प्रवद्र्धनमा सशक्त भएर अगाडि बढ्ने बताउनुभयो । उक्त कार्यक्रममा होटल संघ नेपालका महासचिव साजन शाक्यले स्वागत गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संघका प्रथम उपाध्यक्ष विनायक शाहले गर्नुभएको थियो ।