२०८० चैत्र १५ , बिहिवार

६ महिनामा आयतर्फ लक्ष्यको ४३.८२ प्रतिशत प्रगति

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरले चालु आर्थिक बर्षको अघिल्लो ६ महिनामा ४ अर्व ५६ करोड ६ लाख २९ हजार ७ हजार १२ रुपैयाँ २४ पैसा आन्तरिक आय रकम संकलन गरेको छ । यो रकम प्रस्तावित १० अर्व ४ करोड १९ लाख ५४ हजार रुपैयाँको ४३.८२ प्रतिशत हो ।

 

सम्पत्ति करमा यस बर्ष १ अर्व रुपैयाँ प्रस्ताव गरिएको थियो । जसको ६५.२ प्रतिशत अर्थात् ६५ करोड २० लाख १० हजार ८ सय रुपैयाँ संकलन भएको राजस्व विभागले जनाएको छ । २ अर्व ५० करोड रुपैयाँ प्रस्ताव गरिएको घर जग्गा रजिष्ट्रेसन दस्तुरको १५.५१ प्रतिशत अर्थात ३८ करोड ७८ लाख ७० हजार ८ सय रुपैयाँ संकलन भएको छ । २ अर्व प्रस्ताव गरिएको वहाल करतर्फ १ अर्व १८ करोड १५ लाख ५१ हजार ४ सय रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५९.०८ प्रतिशत हो ।

 

संविधानको अनुसूची ८ मा भएको व्यवस्था बमोजिम बहाल कर स्थानीय तहको एकल अधिकारभित्र पर्छ । तर, संघिय सरकारले संस्थागत बहाल कर आफ्नो क्षेत्राधिकारभित्र रहेको भन्दै आफैँ संकलन गरेको छ । यसबाट करदातालाई पालिका र संघिय सरकारलाई दोहोरो कर बुझाउनु पर्ने परिस्थिति सिर्जना भएको छ । यस अवस्थाले एकातिर महानगरको अधिकार क्षेत्र मिचिएको छ । अर्कोतिर लक्षित आय पूरा गर्न चुनौती भएको छ । राजस्व विभागका प्रमुख ध्रुव काफ्लेको भनाइ छ ।

 

नक्सापास दस्तुरमा ७५ करोड प्रस्ताव गरिएकोमा ४१ करोड ५७ लाख ८६ हजार ७४४ रुपैयाँ प्राप्त भएको छ । यो लक्ष्यको ५५.३ प्रतिशत प्रगति हो । ५५ करोड प्रस्ताव गरिएको व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३१ करोड ४२ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५७.१३ प्रतिशत हो ।

 

३६ करोड ५२ लाख ५४ हजार रुपैयाँ प्रस्ताव गरिएको बाँडफाँडतर्फ मूल्य अभिवृद्धि करबाट ८ करोड ९२ लाख ७३ हजार ७ सय (२४.४४ प्रतिशत) प्राप्त भएको छ । बाँडफाँडमै सवारी साधन करतर्फ ४६ करोड ३४ लाख ९९ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा १२ करोड ९ लाख ८७ हजार ८ सय रुपैयाँ (२६.१ प्रतिशत), मनोरञ्जन करतर्फ ५० लाख रुपैयाँ प्रस्ताव गरिएकोमा ९० लाख ८२ हजार रुपैयाँ (१८१.६५ प्रतिशत) र बिज्ञापन करतर्फ ८० करोड रुपैयाँ प्रस्ताव गरिएकोमा १ करोड २३ लाख ६१ हजार ९७३ रुपैयाँ (१५.४५ प्रतिशत) आय रकम प्राप्त भएको छ ।

 

साना सवारी करतर्फ ५ लाख रुपैयाँ प्रस्ताव गरिएकोमा यस शीर्षकमा आय हुन सकेको छैन । यस्तै बाँडफाँडबाट प्राप्त हुने अन्त शुल्क तर्फ पनि आय प्राप्त भएको छैन । वित्तिय निकायबाट प्राप्त हुने व्याजबाट १ लाख रुपैयाँ र अन्य निकायबाट प्राप्त लाभांसमा ५ लाख रुपैयाँ आय प्रस्ताव गरिएको थियो । यी दुवै शीर्षकमा आय प्राप्त भएको छैन । २ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको पूँजीगत सशर्त अनुदान शीर्षकमा पनि आय भएको छैन ।

 

परीक्षा शुल्कमा आय प्रस्ताव गरिएको थिएन । यस शीर्षकबाट २४ हजार ३ सय रुपैयाँ आय प्राप्त भएको छ । यससँगै पर्यटन शुल्क, विक्रीबाट प्राप्त रकम, सेवा शुल्क, अन्य प्रशासनिक सेवा शुल्क, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, पार्किङ्क शुल्क, शिफारिस दस्तुर, प्रशासनिक दण्ड, जरिवाना र जफत, धरौटी सदरस्याहा, वेरुजु लगायत शीर्षकबाट आय प्राप्त हुन्छ ।