२०८० चैत्र १५ , बिहिवार

चितवन २ को उपनिर्वाचन वैशाख १० गते

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले आगामी वर्षको वैशाख १० गते चितवन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

 

आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन– २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भन्दै सर्वोच्च अदालतले पद रिक्त गरेको थियो ।

 

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ । यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।

 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले आज स्वीकृत गरेको उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ ।