२०८१ बैशाख ७ , शुक्रवार

शेयर बजार ६०.८८ अंकले घट्यो

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको असर साताको पहिलो दिन आइतबारको शेयर कारोबारमा देखिएको छ । राष्ट्र बैंकल मौद्रिक नीति समिक्षा मार्फत लगानीकर्ताको आशामा तुसारापात गरिदिएपछि त्यसको प्रभाव आजको कारोबारमा देखिएको हो ।

 

आइतबार नेप्से उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ६०.८८ अंकले घटेर दुई हजार एक सय २१ दशमलब ७५ विन्दुमा झरेर बन्द भएको हो । मौद्रिक नीतिको समीक्षामा शेयर बजारबारे राष्ट्र बैंकको मौनताले पुँजी बजारका लगानीकर्ता निराश बन्न पुगेका छन् । त्यस बाहेक निजी क्षेत्रको सुझावलाई पनि मौद्रिक नीतिले समेटेन भन्ने उनीहरुको दुखेसो छ । शेयर लगानीकर्ताहरूमा ४÷१२ को सीमामा थोरै भए पनि पुनरावलोकन हुन्छ भन्ने आशा थियो । यदि त्यसो भएन भने पनि जोखिम भार पुरानै दरमा फर्किनेमा उनीहरू ढुक्क थिए । तर, राष्ट्र बैंकले अचम्मको मौनता साँधेपछि लगानीकर्ता निराश बनेका हुन् ।

 

आज शेयर बजारमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने तीन अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज तीन अर्ब चार करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य बढेको छ । आज कुनै पनि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्न सकेन । आजको कारोबारमा सबैभन्दा बढी शेयरमूल्य बढेको कम्पनीमा खप्तड लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ४.४८ प्रतिशतले बढेर प्रतिकित्ता १३७५ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आइतबार ६ कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट हुँदा हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।