२०८० चैत्र १५ , बिहिवार

१४औँ राष्ट्रिय बाल नाटक महोत्सवको आजबाट उद्धाटन हुँदै,२८ नाटक समावेश

सुनाखरी न्युज/ काठमाडौं । १४औँ राष्ट्रिय बाल नाटक महोत्सवको आजबाट उद्धाटन हुने भएको छ । शैली थिएटर तथा रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल (इसान) को सहकार्यमा महोत्सव सम्पन्न हुन लागेको हो ।

 

विगत १३ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटकको १२ र १३औँ महोत्सव भर्चुअल रूपमा सम्पन्न गरिएको थियो । त्यसैगरी १४औँ बालनाटक महोत्सव नौँ दिनसम्म सञ्चालन गर्ने तयारी रहेको र महोत्वमा २८ वटा विभिन्न विधाका नाटकहरू समावेश रहेको शैली थिएटरका कार्यकारी संयोजक सविन न्यौपानेले बताउनुभयो ।

 

विगतका दुई वर्षहरूमा अनलाइन माध्यमबाट भर्चुअल महोत्सव गरेको शैलीले यस पटक प्रतियोगि र अप्रतियोगि नाटक प्रस्तुत गर्दैछ । “छनोट भएर मञ्चनमा लगिएका नाटकहरूलाई मञ्चनकै अविधमा विज्ञहरुको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी ७ वटा पुरस्कारहरु दिईने छ । भने, अप्रतियोगि नाटकको लागि विशेष सम्मान गरिने छ र सहभागि सम्पूर्णलाई प्रमाणपत्र वितरण गरिने छ, शैली थिएटरका कार्यकारी संयोजक सविन न्यौपानले बताउनुभयो ।

 

बाल रङ्गमञ्चको परम्परा बसाल्नु हाम्रो कोशिस हो र अर्को भविष्यमा नेपाली रङ्गमञ्चलाई चाहिने बाल रङ्गकर्मी एवं दर्शक तयार पार्नु हो । हाम्रो यश प्रयासले पक्कै पनि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई नाटक प्रति आकर्षक गराउने थिएटरको उद्देश्य रहेको छ । २०६६ सालदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटक महोत्सवमा नवराज बुढाथोकीद्वारा निर्देशीत नाटक ‘सुनौलो माछा’ बाट नाटकको मञ्चन शुरूवात भएको थियो भने, त्यसवर्ष महोत्सवमा ६ वटा नाटकहरू समावेश रहेका थिए ।

 

त्यस्तै २०६७ सालमा १० ओटा नाटक मञ्चन भएका थिए भने, २०६८ सालमा ८ वटा, २०६९ सालमा १४ वटा, २०७० सालमा १० वटा नाटक समावेश रहेका थिए । त्यस्तै, २०७१ सालमा १५ वटा, २०७२ सालमा १२ वटा, २०७३ सालमा १५ वटा, २०७४ सालमा १५ वटा, २०७५ सालमा २० वटा, २०७६ सालमा १८ वटा तथा, २०७७ सालमा १२ वटा, २०७८ सालमा १० वटा नाटकहरू रहेका छन् भने, रूसी सदन कमल पोखरीमा आयोजना हुन लागेको २०७९ सालको महोत्सवमा २८ वटा नाटकहरू समावेश रहेका छन् ।

 

बालबालिकाका बिषयबस्तुलाई केन्द्रमा राखी कार्य गर्ने शैली थिएटरले विगत १३ वर्षदेखि हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ । महोत्सव माघ २९ गतेदेखि फाल्गुन ८ गतेसम्म रूसि सदन कमलपोखरी र रातोपुल स्थित शैली थिएटरमा मञ्चन हुने छन् ।