२०८० चैत्र १६ , शुक्रवार

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, चिकित्सकहरू तत्काल काममा फर्कने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार सरकार एक साताभित्रै ‘विशिष्ठ व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’लाई अध्ययन गरेर पुनरावलोकन गर्ने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने सहमत भएको छ । यस्तै, भीभीआईपीको आवागमनको नाममा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुका साथै अन्य संलग्न माथि पनि अनुसन्धान गरेर कारबाही अगाडि बढाउने सहमति समेत भएको छ ।

 

यसका साथै नेपाल चिकित्सक संघ र सरकारबीच स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि बनाइएको कानुनलाई पूर्णरुपमा लागू गर्दै त्यसलाई थप सशक्त बनाएर लैजाने विषयमा पनि सहमति भएको छ । माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेका सेवा बन्द छन् । चिकित्सकहरूको आन्दोलनलाई सम्बोधन गर्न आइतबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‍को कार्यालयमा नेपाल चिकित्सक संघ तथा सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो ।

 

वार्तामा चिकित्सकहरूका तर्फबाट एनएमएका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल, ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनी, तथा एनएमएका पूर्व अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ सहभागी भएका थिए भने नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेसहित स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल सहभागी रहेका थिए । यस्तै वार्तामा नेपाल प्रहरीका एआईजी दिवेश लोहनी, काठमाडौंका एसएसपी दानबहादुर कार्की तथा स्वास्थ्य मन्त्रालयका सहसचिव कृष्ण पौडेलको समेत सहभागीता रहेको थियो ।