२०८१ बैशाख ११ , मंगलबार

काठमाडौँ र फेडरिसवर्ग नगर बिच फोहोर व्यवस्थापन अनुभव आदान प्रदान

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगर र संयुक्त राज्य अमेरिकाको फेडरिसवर्ग नगरले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदान प्रदान भएको छ । भर्चुअल विधिबाट विहीबार आपसी ज्ञान, सीप र अनुभव आदान प्रदान गरिएको हो । त्यस क्रममा काठमाडौँ महानगरका तर्फबाट सरिता राईले र फेडरिसवर्गका तर्फबाट म्याथु केलीको नेतृत्वमा समूहगत प्रस्तुतिकरण भएको थियो ।

 

प्रस्तुतिकरणमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन, स्रोतमा भएको फोहोर घटाउने विधि, फोहोरको प्रकृति, रेष्टुरेन्टलगायत ठाउँबाट उत्पादन हुने तेल र खाद्य फोहोर फोहोर, उद्योगबाट उत्पादन हुने औद्योगिक फोहोर, हानीकारक र साधारण फोहोर, प्लाष्टिक, शिशा, कागजलगायत बस्तुको गुण र व्यवस्थापन विधिहरु समेटिएका थिए । प्रस्तुतिसँगै भएको छलफलका क्रममा फोहोर व्यवस्थापनमा हुने खर्च, फोहोरसँग लगाइने शुल्क तथा दस्तुर, यसबाट प्राप्त भएको रकमबाट व्यवस्थापनमा पुग्ने योगदान, ल्याण्डफिल साइट र यसको दिगो व्यवस्थापनका विषयमा आफ्ना आफ्ना अनुभव सुनाइएको थियो ।

 

अनुभव आदान प्रदानका क्रममा महानगरकी उपप्रमुख सुनिता डंगोलले, स्वच्छ, सफा र हरियाली सहर निर्माणका लािग आपसी ज्ञान, सीप र अनुभवबाट नतिजाका लागि क्षमता बढ्ने बताउनुभयो । सम्बन्ध विकास भएपछि नगर व्यवस्थापनका पक्षलाई नजिकबाट चिन्ने अवसर प्राप्त भएको, यस क्रममा बुझाइले सहरी विकास र व्यवस्थापनमा सहयोग पुग्ने उपप्रमुखको भनाइ थियो । हाम्रा धेरै साझा मुद्दा छन् । ती मुद्दा सुल्झाउन आपसी नीतिगत प्रबन्ध र व्यवहारिक क्रियाकलापको निष्कर्ष दुवै पक्षलाई काम लाग्ने हुन्छन् । यसबाट दुवै नगरको लाभ हुन्छ । त्यस क्रममा फेडरिसवर्ग नगरकी मेयर मेरी क्याथरिन ग्रीन लले धारणा राख्नुभयो । यस प्रकारको छलफल भगिनी सम्बन्ध स्थापनाका लाभ हुन् । छलफलबाट निस्किएको नतिजाबाट नागरिक तहमा फाइदा पुग्छ । फेडरिसवर्ग काठमाडौँ भगिनी सम्बन्धका अध्यक्ष एवं नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट देलिसीको धारणा थियो ।

 

त्यस क्रममा काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई पनि सहभागी गराइएको थियो । अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयले आयोजना गरेको कार्यक्रमलाई काठमाडौँ फेडरिसवर्ग भगिनी सम्बन्ध समितिका अध्यक्ष नविन महर्जनले सहजीकरण गर्नुभएको थियो । सहरीकरणसँग सम्बन्धित मुद्दामा आपसी ज्ञान, सीप र अनुभव आदान प्रदान गरेर सम्बन्धको लाभ नागरिक तहमा पु¥याउन अन्तरराष्ट्रिय नगरहरुसँग नियमित कार्यक्रम छन् । अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराईको भनाइ छ ।