२०८१ बैशाख १४ , शुक्रवार

राष्ट्रपतिले आज संसद्को दुवै सदनलाई विशेष धन्यवाद सम्बोधन गर्ने

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदको दुवै सदनलाई विशेष धन्यवाद सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले आज ३ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनलाई संयुक्त सम्बोधन गर्ने भएकी हुन् ।

 

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद् भवन नयाँ बानेश्वरबाट विशेष सम्बोधन गर्ने भएकी हुन् । सम्बोधनको कार्यतालिका अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित हुनेछ । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

 

अब कार्यकाल सकिन केही दिन मात्रै बाँकी छ राष्ट्रपतिको । उनको यो सम्बोधन नै संसदमा अन्तिम अर्थात विदाई सम्बोधन हुनसक्ने अनुमान गरिएको छ । उनी दुई कार्यकाल राष्ट्रपति भइसकेकी छन् । नेपालको संविधानमा एक व्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान छ । राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि साँझ रात्रि भोजको समेत आह्वान गरिसकेकी छिन । उक्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, मन्त्रीहरू, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरू, संवैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरू, कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गइसकेको छ । निर्वाचन आयोगले फागनु २५ गते राष्ट्रपतिको निर्वाचन मिति तय गरेको छ ।