२०८१ बैशाख ११ , मंगलबार

फागुनभित्र सवारी कर तथा नवीकरण बापतको रकम भुक्तानी गरे जरिवाना छुट हुने

सुनाखरी न्युज/ काठमाडौं । आर्थिक वर्ष २०७०–७१ देखि आर्थिक वर्ष २०७५–७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारीधनीले यही फागुन मसान्तभित्र कर बुझाएमा त्यस अवधिको जरिवाना छुट हुने भएको छ।

 

यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाण्डौले आज सूचना जारी गर्दै जरिवाना छुटको व्यवस्था गरिएको जानकारी दिएको हो। विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारीधनीलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन पनि कार्यालयले आग्रह गरेको छ। कार्यालयले प्रयोग नभएका सवारीसाधन चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत लगतकट्टा गर्न पनि आग्रह गरेको छ। ट्राफिक प्रहरीको कारबाहीमा परी प्रहरी कार्यालयमा रहेका सवारसाधनका धनीहरुलाई पनि कर, नवीकरण तथा दण्ड दस्तुर तिरेर सवारीसाधन जिम्मा लिन कार्यालयले आग्रह गरेको छ।

 

सवारी कर भुक्तानी नगरेका सवारीसाधन एवं सवारीधनीहरुको लगत तयार गरी सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा कर संकलन कार्यलाई कडाइका साथ लागू गर्न गइरहेको पनि सूचनामा जानकारी गराइएको छ। कर, नवीकरण तथा जरिवाना रकम सरकारी बक्यौतासरह असुलउपर गरिने भएकाले त्यसबाट कुनै पनि बहानामा उन्मुक्ति नपाइने कार्यालयले जनाएको छ। ‘त्यसैले समयमै सवारीसाधन कर तथा प्रचलित बक्यौता रकम भुक्तानी गर्न अनुरोध छ’, सूचनामा भनिएको छ।