२०८१ बैशाख १४ , शुक्रवार

फागुन १ देखि बागमतीमा ७० अंक प्रणाली लागू हुँदै

सुनाखरी न्युज/ काठमाडौं । बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ ।

 

यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो । श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले फागुन १ गतेबाट सो अंक प्रणाली लागू हुने बताउनुभयो । अन्य प्रदेशमा लागू भइसकेको प्रणाली बागमती प्रदेशमा मात्रै रोक्न नहुने भन्दै मन्त्री श्रेष्ठले फागुन १ गतेदेखि बागमती प्रदेशमा पनि यो प्रणाली लागू गर्ने बताउनुभयो । सानो त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरुले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको उहाँको भनाइ छ ।

 

यो प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन् । प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि रोमन अंक ८ (एट) को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन ।

 

निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन । दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ ।