२०८१ बैशाख ७ , शुक्रवार

टर्की र सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

सुनाखरी न्युज/ काठमाडौं । टर्की र उत्तरी सिरियामा गत सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या करिव करिब ९ हजार पुगेको छ ।

 

यसैगरी सिरियामा भूकम्पमा ज्यान गुमाउनेको संख्या पुष्टि गर्न कठिन भइरहेको बताइएको छ । यद्यपी करिब ३ हजार मानिसको मृत्यु भएको सिरियाली संचार माध्यमहरुले जनाएका छन् । राहत तथा उद्दारमा खटिएका सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताएका छन् । क्षतिको अवस्थालाई मूल्यांकन गर्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।

 

अत्यधिक चिसोका कारण खोज तथा उद्दार कार्यमा कठिनाइ भइरहेको छ । रातको समयमा समेत खोज र उद्दारको काम जारी छ । कतिपय स्थानमा उद्दार कार्य ढिला भएको पीडितहरुको गुनासो छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुईवटा विनाशकारी भूकम्पमा भएको प्रकोपको मापन गर्न समेत कठिन भएको बताउनु भएको छ । सरकार खोज, उद्दार र राहतको काममा प्रतिवद्ध भएर लागेको बताउनु भएको छ । तर आलोचकहरूले भने आपतकालीन सेवा अत्यन्त ढिलो भन्दै सरकारको आलोचना गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपत्काल घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्री सहित उद्धारकर्मी परिचालन गरेको छ ।

 

यसैबीच टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टोली र अत्यावश्यक सामग्री पठाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले सो निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्मको सहयोग गर्नुपर्ने बताउनुभयो ।

 

नेपाल विपद्‍मा परेका बेला टर्की सरकारले सहयोग गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले टर्की सरकारको दुःखमा राहत पुर्याउन छिटोभन्दा छिटो टोली र सामग्री पठाउनु पर्ने बताउनु भयो । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मालगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित हुनुहुन्थ्यो । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।