२०८१ बैशाख ७ , शुक्रवार

नेपाललाई गरिने सहयोग प्राथमिकतामा छ : युएसआइडी प्रशासक पावर

सुनाखरी न्युज/ काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक सामन्था पावरले संयुक्त राज्य अमेरिकाले नेपाललाई गरिने सहयोग प्राथमिकतामा रहेको बताउनुभएको छ ।

 

दुई दिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले अमेरिकाले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा अमेरिकाले गर्ने सहयोगमा कुनै भूराजनीतिक आयाम नरहेको समेत स्पष्ट पार्नुभयो । सो अवसरमा प्रशासक पावरले नेपाल भ्रमणका दौरान उहाँले गर्नुभएका विभिन्न उच्चस्तरीय भेटवार्ताका क्रममा भएका विषयबारे जानकारी गराउनुभएको थियो । उहाँले भ्रमणका क्रममा मङ्गलबार नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

 

उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो । नेपालमा हालै सम्पन्न आमनिर्वाचनसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको र यस कार्यमा अमेरिकाको साझेदारी रहने उहाँले उल्लेख गर्नुभयो ।

 

युएसएआइडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानूनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछन् । मानव बेचबिखन विरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्ने जनाएको छ ।