२०८१ बैशाख १३ , बिहिवार

हवाई जहाजभित्र इन्टरनेट सेवा…

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली आकाशमा पनि हवाई यात्राका दौरान  इन्टरनेट चलाउन पाइने भएको छ । यसका लागि अब वायुसेवा कम्पनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको शर्त पुरा गरी यस्तो सेवा जडान गर्न सक्नेछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले इनफ्लाइट कम्युनिकेसन ९आईएफसी० सर्भिस सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो बाटो खोलेको छ । यसअघि सरकारले यस्तो सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न प्राधिकरणले निर्देशिका जारी गरेको हो ।

 

निर्देशिका अनुसार नेपाली आकाशमा १० हजार फिटभन्दा माथिको उचाइमा उडानमा रहेको जहाजमा यस्तो सेवा दिइनेछ । ट्याक्सिङ, उडान वा अवतरणका दौरान र १० हजार फिट भन्दा तलको उचाइमा भने कुनै पनि जहाजमा यस्तो सेवा यात्रुले चलाउन पाउने छैनन् ।

यसअघि नेपालको आकाश हुँदै अन्य मुलुकमा जाने वायुसेवा कम्पनीहरुको उडानका दौरान चलिरहेको वाइफाइ तथा अन्य फ्रिक्वेन्सी सेवाहरु काटिने अवस्था थियो । त्यसमा पनि नेपालको आकाश हुँदै उचाइमा उड्ने विदेशी जहाजहरुमा चलिरहेको सेवा अब नेपाली आकाशमा ‘ओभरफ्लाइङ’ गर्दा समेत सेवा अवरुद्ध हुने छैन ।

प्राधिकरणका अनुसार नेपाली कम्पनीहरुले समेत संसारका धेरै मुलुकमा प्रयोगमा आएको यो सुविधा प्रयोग गर्नेबारे चासो राखेसँगै निर्देशन जारी गरी यसको प्रयोग गर्ने बाटो खुला गरिएको हो ।

इनफ्लाइट कम्युनिकेसन सर्भिस सर्भिस प्रदायक कम्पनीले स्याटलाइट अपरेटरबाट इन्टरनेट नेटवर्क सेटअप गर्छन् । प्राधिकरणका अनुसार इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिस आन्तरिक तथा बाह्य दुवै कम्पनीहरुले उपलब्ध गराउन सक्ने भएका छन् ।

नेपालमा दर्ता भएका विमानमा आईएफसी सेवा उपलब्ध गराउन चाहने नेपालका वायुसेवा कम्पनीले आफूले कस्तो सेवा प्रदान गर्न चाहेको सो बारे खुलाएर निवेदन दिने सक्ने भएका छन् ।

 

यस्तो सेवा विमान ग्राउन्डमा रहेका बेला, अवतरणको बेला र जमिनबाट १० हजार फिट भित्र रहेको अवस्थामा प्रयोग गर्न पाइने छैन । यस्तो सेवाले दूरसञ्चार सेवा प्रदायको फ्रिक्वेन्सीलाई प्रभावित गर्न पाउने छैन ।