२०८१ बैशाख १४ , शुक्रवार

तपाइँलाई ढाड दुख्ने समस्या छ ? यसो गर्नुहोस् …..

सुनाखरी न्युज/ काठमाडौं ।
धेरैलाई कहिलेकाहीँ ढाड दुख्ने समस्या हुन्छ । हामीमध्ये  यो कसैलाई कम हुन्छ भने कसैलाई बढी भएर औषधी नै खानुपर्ने अवस्था आउछ । चिकित्सककहाँ पुग्नेमध्ये अधिकांशको ढाड दुख्ने समस्या भएको पाइन्छ । यो पूरानो समस्या हो । कूल जनसंख्याको ८० प्रतिशत मानिसको जीवनमा कुनै न कुनै बेला ढाड दुख्ने समस्या भएको हुन्छ पनि भन्ने गरिन्छ ।

ढाड दुख्दा जति हामी आत्तिन्छौँ त्यति डरलाग्दो भने होइन । सामान्य केही कुरामा ध्यान दिन सक्यौं भने यो समस्याबाट अलिक टाढा रहन सकिन्छ । तर सधैं सामान्य कारणले मात्र ढाड दुख्छ भन्नेचाहिँ होइन । कहिलेकाहीँ अन्य विभिन्न कारणले पनि ढाड दुख्ने समस्या आउनसक्छ । यस्तो अवस्थामा भने चिकित्सकलाई देखाउनुपर्छ । अस्पतालमा आउनेमध्ये धेरै महिला हुन्छन् । निहुरिएर घरको काम गर्ने भएकाले उनीहरु ढाडको समस्याबाट धेरै पीडित हुन्छन् ।

किन हुन्छ ढाड दुख्ने समस्या ?

मेरुदण्डको हड्डीभित्र मुख्य नशा, त्यसवरपर हुने लिगामेन्ट तथा दुई हड्डीबीचमा नरम मासु हुन्छ जसलाई डिक्स भनिछ । मांसपेशी र अन्य तन्तुमा जहाँ चोट लागेपनि ढाड दुख्ने समस्या हुन सक्छ ।
आजकाल एक्स रे तथा, एमआरआई सिटीस्क्यान गरेर ढाड दुखेको कारण पत्ता लगाउने गरिन्छ । तर कहिलेकाहीँ औषधी खाँदा, विभिन्न टेष्ट गरेर हेर्दासमेत रोग पत्ता लगाउन सकिदैंन । हामीले यसलाई ‘म्याजिक बक्स’ भनेर पनि पढ्छौँ । रोगै पत्ता लगाउन नसकिने अवस्थाचाहिँे कहिलेकाहीँ मात्र हुन्छ ।

खासगरी ८० देखि ९० प्रतिशत मांसपेशी र लिगामेन्ट तन्किने, खुम्चिने कारणले गर्दा ढाड दुख्छ । सुताई नमिल्दा, पल्टिएर लामो समय कम्प्युटर मोबाइल चलाउने, गह्रौँ सामान उठाउने, निहुरिएर काम गर्नेमा यस्तो समस्या बढी हुन्छ । नेपाली समाजमा यसलाई ‘चस्को पसेको’ पनि भनिन्छ ।

प्रायः ३५ देखि ५५ उमेर समूहका मानिसमा बढी देखिन्छ । तर अरु उमेर समूहका जोकसैलाई पनि ढाड दुख्ने समस्या हुनसक्छ । यो सामान्यतया मौसम परिवर्तन हुदाँ बढी देखिन्छ । किनकि जाडोबाट गर्मी हुदाँ हामी कम कपडा ओडेर वा नओडी सुत्छाँै । बिहान हुदैँ जाँदा जाडोले हामी कुक्रुक्क परेर सुत्दा मांसपेशी तन्किएर वा खुम्चिएर दुख्ने समस्या बढी हुन्छ ।

साधारण कुरामा ध्यान दिन सकेमा ढाड दुखेर अफिस नै छुट्टी लिनुपर्ने अवस्था आउँदैन ।

अन्य कारणले पनि दुख्छ

यसबाहेक अन्य कारणले पनि ढाड दुख्ने समस्या हुनसक्छ । कहिलेकाहीँ डिक्स फुट्दा नशा च्यापिएर पनि दुखाई हुन्छ । मेडिकलको भाषामा यसलाई साइटिका भनिन्छ । यस्तोमा हातखुट्टा झमझम हुने, दुख्ने हुन्छ । यस्तो अवस्थामा भने हामीले चिन्ता लिनुपर्ने हुन्छ ।

यस्तो समस्या भएमा दुखाई घुडाँतिर या कम्मर मुन्तिर खुट्टातिर सर्ने हुन्छ । पाठेघरको समस्या, मिर्गौलामा पत्थरी भएको छ भने पनि ब्याक पेन हुन्छ । दिसा गर्ने अंग लाटो हुने, दिसापिसाब नियन्त्रण नहुने जस्ता समस्या पनि हुन्छ । यस्तो बेलामा तुरुन्त चिकित्सककहाँ गएर उपचार गराइहाल्नुपर्छ ।

त्यसबाहेक मेरुदण्ड संक्रमण, साधारण कब्जियतको समस्या, खानपानले ठूलो आन्द्रामा असर पर्दा पनि ढाड दुख्ने समस्या हुन्छ ।

अझै काठमाडौँको सडकमा बाइक चलाउने हरुमा पनि सबैभन्दा धेरै ढाड दुख्ने समस्या बढी छ । किनकि यहाँको बाटोमा खाल्डाखुल्डी बढी छ । बाइक चलाउँदा खाल्डामा घचक्क हुँदा ढाड दुख्ने तथा डिक्स फुट्ने समस्या बढी हुन्छ । एउटा खाल्डामा एकपटक झट्का पर्दा ६ गुणासम्मको लोड लिनुपर्छ भनिन्छ । हाम्रा सडकमा गुड्दा कतिपल्ट झड्का लिनुपर्छ, गणना नै छैन ।

समस्याबाट बच्न के गर्नेरनगर्ने

– सुत्दा धेरै लचकदार तथा फोम भएको भन्दा कडा बेडमा सुत्ने ।
– धेरै समय सुतेर टिभी हेर्न, मोबाइल, ल्यापटप चलाउन कम गर्ने
– बाइक चलाउने क्रममा खाल्डो आउँदा अलिकता उठेर चलाउने ।
– ढाड दुखाईसँगै ज्वरो आउने, हातखुट्टा झमझमाउने, दुख्ने हुन्छ भने चिकित्सककहाँ जानुपर्छ ।
– तनाव नलिइकन काम गर्नुपर्छ, ढाड दुख्ने, तनाव र डिप्रेसनबीच आपसमा अन्तरसम्बन्ध छ ।
– अन्य जोखिमहरु मोटोपन, मधुमेहलगायतका रोग पनि ढाड दुखाईका कारण हुन् ।
– दुई वर्षभन्दा कम उमेर बालबालिकालाई मोनिटर भएका कुनै पनि साधन चलाउन नदिने । त्यसले ढाड दुख्ने समस्या त हुन्छ नै , उनीहरुको सिर्जनात्मक सोच्ने शक्ति कमजोर हुन्छ ।
– धेरै निहुरिएर काम नगर्ने, भुई पुछ्दा उभिएर पुछ्ने, एकैपटक धेरै कपडा नधुने, सामान पनि धेरै तौल भएको नठाउने गर्नुपर्छ ।
– बच्चामा ढाड दुख्ने समस्या भयो भने अलि राम्ररी जाँच गर्नु आवश्यक छ । उनीहरु खेल्दा लड्ने र रुघाखोकी लाग्दा ढाड दुख्ने हुन्छ । २५ वर्षभन्दा मुनिका मानिसलाई लगातार ढाड दुख्यो भने खतराको लक्षण हो ।
– दिसापिसाव भएको छैन वा रोकिदैन, ज्वरो आयो, तौल घटिरहेको छ, दुखाई तिघ्राभन्दा तल सर्दै गएको छ भने पनि अस्पताल गई विशेषज्ञलाई देखाइहाल्नुपर्छ ।
– त्यसबाहेक सुुत्दा पोजिसन मिलाएर सुत्ने, महिलाले महिनावारी हुँदा अलि कम काम गर्ने गर्नुपर्छ ।

साभार