२०८१ बैशाख ७ , शुक्रवार

सूचनामा मेलामा मन्त्री शर्माले भनिन्- ‘मुलुकलाई अघि बढाउन महत्वाकांक्षी योजना ल्याउँछाैँ’

सुनाखरी न्युज/ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दावी गरेकी छन् ।

 

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको बताउँदै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन् । भृकुटीमण्डपमा आज (मंगलबार)बाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गरिन् । उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्वीकार गर्दैै त्यस काममा सम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको समेत बताइन् ।

 

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्वाकांक्षी योजनाहरु अघि सार्ने योजना पनि सार्वजनिक गरिन् । उनले भनिन्, ‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरु के–के हुन्छन भन्ने कुरामा पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ । हाम्रो क्यान महासंघकै तर्फबाट अघि अनौपचारिक रुपमा थोरै कुरा भएको छ । मन्त्रालयबाट हामीले यस क्षेत्रमा गर्न सक्ने सहयोगहरु के के हुन सक्छन ? कमजोर अवस्था भएकाले धेरै सहयोग गर्न नसकौँला । तर पनि केही न केही त यस क्षेत्रमा गर्नैपर्ने हुन्छ । यसका निम्ति यहाँहरुका आईडियाहरु, सुझावहरु पनि मन्त्रालयले प्राप्त गर्न सकोस् । त्यसका निम्ति पनि ध्यान दिनुहुनेछ भन्ने आग्रह गर्न चाहन्छु ।’

 

सूचना प्रविधिको विकासका लागि विद्यमान कानुनमा पनि लुप होलहरु रहेको र थप कानुन बनिनसकेको अवस्था रहेको भन्दै उनले थप कानुनहरु बनाउनु आवश्यक रहेको बताइन् । ‘हामी यस क्षेत्रसँग सम्बन्धित कानुनहरुको बारेमा छलफल गरिरहेका छौं । हामी यस क्षेत्रको सम्बन्धित कानुनहरु छिटो भन्दा छिटो संसदमा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने भनेर हामी लागि रहेका छौं,’ मन्त्री शर्माले भनिन्, ‘त्यसकारण यसका लागि आवश्यक कानुनहरुको विषयमा पनि यहाहरुको सुझावको अपेक्षा गरेका छौं । यस क्षेत्रमा प्रधानमन्त्रीकै नेतृत्वको डिजिटल फ्रेमवर्क नेपालजस्ता निर्देशक समितिहरु छन् । तर पनि आवश्यक काम हुन सकेको छैन । केही पनि भएन भन्ने मेरो भनाई होइन । तर पनि जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।’

 

मन्त्रालय र सरकारका सम्बन्धित निकायहरुबाट तथा निजी क्षेत्रबाट बनेको यो क्यान महासंघबाट सबैले सहकार्य गरेर राष्ट्रका निमित्त, सूचना प्रविधिको विकासको निमित्त हामी अगाडि बढ्न उनले आग्रह समेत गरिन् । मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौं भन्ने भावना साथ अघि बढनुपर्नेमा पनि जोड दिइन् ।