२०८० चैत्र १६ , शुक्रवार

शोधनान्तर स्थिति ९७ अर्बले बचतमा

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब १० करोडले बचतमा रहेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा चालु खाता रु २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु तीन खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९ दशमलव एक प्रतिशतले कमी आई रु चार अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ७४ करोड ९४ लाख पुगेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु ११ अर्ब ३४ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब दुई करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।