२०८० चैत्र १६ , शुक्रवार

नागरिकता लगायतका विधेयकहरु संसदमा लैजानेबारे दलहरूबीच सहमति

सुनाखरी न्युज/ काठमाडौं । सरकारले प्राथमिकतामा रहेका नागरिकता, संक्रमणकालीन न्यायलगायतका विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य शुरु गरेको छ ।

 

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रस्तुत गर्ने विधेयकका सम्बन्धमा विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको छ । छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा नियमावलीलाई १५ दिनभित्र टुंगो लगाउने र यसअघि थाँती रहेका विधेयकहरुलाई प्राथमिकता आधारमा अघि बढाउने सहमति भएको जानकारी दिए ।

 

संसद शुरु भएपछि प्राविधिक कार्यमा व्यस्त रहेकाले अब संसदलाई बिजनेश दिने विषयमा छलफल केन्द्रित भएको उनले बताए । त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदलाई व्यवस्थित गराउने र विधेकहरुलाई जनमुखी बनाउने तथा जनताका आवश्यकतासंग जोड्ने गरी विधेयकलाई अघि बढाउने विषयमा सबै दलहरुसँग छलफल गरिएको जानकारी दिए । सरकारले विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लैजाने तयारी गरेको छ ।