२०८१ बैशाख १३ , बिहिवार

‘हेल्लो जिन्दगी’ले जित्यो ८ वटा अन्तर्राष्ट्रिय अवार्ड

सुनाखरी न्युज / काठमाडौँ – नेपालमा ब्यवसाय राम्रो नभएपनि कतिपय फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फेष्टिभलमा अवार्ड भने हात पार्न सफल भएका छन् । यस्तैमा एभरेष्ट सूर्य बोहरा निर्देशित तथा बिक्रम डी जोशी निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ ले अहिलेसम्म विभिन्न ८ वटा अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।गत असारमा गान्तोकमा सम्पन्न १६ औं संस्करणको गान्तोक इन्टरनेशनल फिल्म फेष्टिभलबाट अन्तराष्ट्रिय अवार्डको यात्रा थालेको ‘हेल्लो जिन्दगी’ ले उक्त फेष्टिभलमा क्रिटिक्स च्वाइस अवार्ड जितेको थियो ।

 

त्यसपछि कोलकतामा आयोजित रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डमा ‘आउट स्ट्यान्डिङ एचिभ्मेन्ट अवार्ड’ जितेको फिल्मले हैदराबादमा आयोजित ब्ल्याक स्वान इन्टरनेशनल फिल्म फेष्टिभलमा ‘नाइट अफ दि रिल’, दार्जिलिङमा सम्पन्न गोल्डेन फर्न फिल्म अवाड्सर्् तथा राजस्थानमा जैसलमेर इन्टरनेशनल फिल्म फेष्टिभलमा समेत उत्कृष्ट फिचर फिल्म अवार्ड जितेको थियो ।

 

सिंगापुरको वल्र्ड फिल्म कार्निभल तथा गत नोभेम्बरमा क्यालिफोर्नीयामा सम्पन्न सन जोस इन्डिपेन्डेन्ट फिल्म फेष्टिभलमा समेत बेस्ट न्यारेटिभ फिचर फिल्म अर्वाड जितेको आफ्नो फिल्म एलए फेष्टिभल सिनेमा लस एन्जेल्स, लण्डन इन्डिपेन्टेन्ट फिल्म फेष्टिभल, क्यान्स फिल्म अवार्डस्, डुब्लिन मुभी अवार्ड तथा लण्डन इन्टरनेशनल सर्ट फिल्म फेष्टिभललगायतका बिभिन्न अन्तराष्ट्रिय फेष्टिभलका थुप्रै विधामा प्रतिस्पर्धी रहेको जानकारी निर्माता तथा अभिनेता जोशीले दिएका छन् ।

 

निर्देशक बोहराले आफूहरुको मिहिनेतले अन्तराष्ट्रियस्तरमा सम्मान पाएकोमा खुशी व्यक्त गरेका छन् ।‘नेपाली फिल्म अन्तराष्ट्रिय अवार्डमा प्रतिस्पर्धा गरि जीत हासिल गर्नु सबैका लागि पक्कै पनि खुशीको कुरा हो,’ बोहरा भन्छन्– ‘यसले आगामी दिन अझ उत्कृष्ट फिल्म बनाउने हौसला मिलेको छ । ’निर्माता तथा अभिनेता जोशी पनि आफ्नो फिल्मले लगातार जितिरहेको अन्तर्राष्ट्रिय अवार्डप्रति नतमस्तक छन् । भन्छन्– ‘म एक्दम खुशी छु । निकट भविष्यमा अझ उत्कृष्ट फिल्म निर्माण गर्ने प्रेरणा मिलेको छ ।’

 

उनले आफूहरुले निकै मिहिनेत र इमान्दारिताका साथ गुणस्तरिय फिल्म निर्माण गरेकाले अन्तराष्ट्रिय अवार्डहरुमा प्रतिस्पर्धा गर्न सकेको धारणा राखेका छन् ।गत चैत १८ गते देशभर प्रदर्शन भएको फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विक्रान्त बस्नेत, विल्सन विक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा छन् ।