२०८१ बैशाख ८ , शनिवार

सम्पत्ति शुद्धीकरण विधेयक संसद्‌मा नल्याउनु गम्भीर : सांसद पौडेल

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्‌मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि भएको बताएका छन् ।

 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद पौडेलले यथाशिघ्र विधेयकलाई संसद्‌मा ल्याउन र पारित गरेर नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालहरूमा कालोसूचीमा पर्नबाट बचाउन माग गरे ।‘सम्पित्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन बनेको विधेयकलाई हालसम्म पनि संसद्‌मा ल्याइएको छैन, यो गम्भीर विषय हो,’ उनले भने, ‘गत पौषमा एफएटीएफको टोली नेपालको स्थलगत मूल्यांकन गरेर फर्कियो । उसले नेपाललाई तत्काल यससम्बन्धी कानुन बनाऊ, नत्र तिम्रो देश ग्रे जोनमा पर्छ भनेर सुझाव दिएको छ ।

उसले तोकेको मापदण्ड पूरा नगर्दा कतिपय ठूला देशहरू आर्थिक विकासको ठूला सञ्जालबाट बाहिरिएका छन् । जसको कारण ती देशहरूले आर्थिक संकटको सामना गर्नुपरेको छ । यस्तोमा हाम्रोजस्तो देशले दण्डित हुने अवस्था बन्यो भने संकटपूर्ण अवस्था आउन सक्छ ।’उनले सरकारले बेलैमा अन्तर्राष्ट्रिय जगत्‌लाई विश्वस्त बनाउने गरी विधेयक ल्याएर संकटबाट मुक्त गर्नुपर्ने बताए ।