२०८१ बैशाख ३० , आइतवार

चितवन-२ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाने

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले  चितवन-२ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन्।

उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद बदर भएपछि उक्त निर्वाचन क्षेत्रबाट आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ आज निर्वाचन आयोग जान लागेका हुन्।

श्रेष्ठले आफू नजिर कायम गर्ने हिसाबले निर्वाचन आयोग पुग्न लागेको बताए।

‘अहिलेसम्म यस्तो घटना भएको छैन। संविधानको पनि व्याख्या हुन जरूरी छ। जो अनागरिक छ। निर्वाचन उठ्न पाउँदैन। तर उठेको अवस्था भनेको विशेष परिस्थिति हो,’ श्रेष्ठले भने, ‘निर्णय गर्न आयोगले ढिलाइ गर्‍यो। अहिले रविजीको नागरिकतासहित प्रक्रिया नै रद्द भयो। त्यसैले नजिर कायम गरिदिँदा जीवनमा अरूलाई दुस्ख नहोला भन्ने खातिर नजिरका लागि लड्न लागेको हो।’

निर्वाचन आयोगले भने रिक्त भएको चितवन-२ मा उपनिर्वाचन गर्नुपर्ने बताउँदै आएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनअनुसार उक्त क्षेत्रमा उपनिर्वाचन हुने बताए।

थपलियाले पद रिक्त भएको अवस्थामा अर्कोलाई दिनुपर्ने कुनै कानुन नभएको बताए।

मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट लामिछाने ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने श्रेष्ठ १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो भएका थिए।