२०८० चैत्र १६ , शुक्रवार

२०६१ माघ – १९ र मेरो डायरी

किरण गिरी । २०६१ साल माघ -१९ गते म पार्टी अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री सुर्य बहादुर थापा निवास मालिगाउंमा समसामयिक राजनीति र नियमित मिडिया बृफिङ को क्रममा पुगेको थिए । मेरो निवास रामकोट बाट बाटोमा जाँदै गर्दा नै केहि राजनीतिक सन्नाटाको छनक आइरहेको थियो ।

 

म पार्टी अध्यक्ष एबं पुर्बप्रधानमन्त्री सुर्य बहादुर थापा ( जो अहिले हामी माझ हुनुहुन्न ) संग नियमित भेटघाट को क्रममा पुगें । उहाँ आफ्नो घर कम्पाउण्ड संगै जोडिएको बहिनी मञ्जु थापा ( जो अहिले हामी माझ हुनुहुन्न ) को घरको पहिलो तल्ला बैठक कोठामा हुनुहुन्थ्यो । म प्रवेश गरें कोठामा अध्यक्ष सुर्य बहादुर थापा ,बहिनी मञ्जु थापा , छोरा हरु डाक्टर प्रबिण बिक्रम थापा र इन्जिनियर प्रजेश बिक्रम थापा हुनुहुन्थ्यो ।

 

सदा झै मैले आफ्नो समसामयिक राजनीतिक बृफिङ र मिडिया बृफिङ गरें । बृफिङ्का क्रममा – माओवादी द्वन्द , देउवा सरकार प्रति राजा र दरबारियाहरु बक्र दृस्ठिकोण , राजनीतिक दलहरु बिचको सम्बन्ध , नेपालको राजनीति संकट तर्फ उन्मुख हुँदै गरेको सम्बन्धमा मैले आफ्नो धारणा र दृष्टिकोण राख्दै गर्दा यसैबीच नेपाल टेलिभिजन र रेडियो नेपाल बाट ” राजा ज्ञानेन्द्र बाट राष्ट्र नाममा संबोधन हुने ” सूचना बारम्बार आउन थालिसकेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा को नेतृत्वमा संयुक्त सरकार गठन भै कार्यरत थियो ।
बिहान – १० बजे टेलिभिजन बाट संबोधन सुरु भयो संबोधन बाटै ज्ञानेन्द्र बाट बहुदलीय प्रजातन्त्र माथी ” कु ” गर्दै सैन्य बलमा प्रतिगामी कदम भयो :-
– मन्त्री परिषद विघटन ,
– संबिधानका मौलिक हकहरु निलम्बन ,
– दलहरू माथी प्रतिबन्ध र
आफ्नै अध्यक्षता मन्त्री परिषद गठन गर्ने घोषणा भयो ।

तत्काल अध्यक्ष को निर्देशन अनुसार मैले छोटो बिरोध बक्तब्यको मस्यौदा तयार गरे –
” माघ -१९ को अनपेक्षित घटना बाट बहुदलीय प्रजातन्त्र र संबैधानिक राजतन्त्र माथी गम्भीर क्षती पुगेको छ । दलहरू लाई पाखा लगाएर चालिएको यो कदम सबैका लागी अनिष्टकारी हुने छ ” यो कदम अबिलम्ब फिर्ता लिन आग्रह गर्दछु ” – सुर्य बहादुर थापा संस्थापक अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री राप्रपा । उहाले बिरोध बक्तब्य हस्ताक्षर गर्नु भयो । मैले हतार हतार त्यो बक्तब्य बिबिसी लगायत मिडिया मा सम्प्रेषण गर्दै गर्दा एकाएक संञ्चार संपर्क हरु अबरुद्ध भयो ।

 

यसै बिच लगत्तै हामी बसेको कोठामा नै एकजना सशस्त्र डिएसपीले अत्यन्तै जरुरी गोप्य बन्द चिठी सुर्यबहादुर थापाको हातमा थमाउदै भने ” हजुर लाई घारमै नजर बन्द राख्ने निर्णय भएको छ ” आजबाट हजुर र निवास को सुरक्षा मेरो कमाण्डको टोलीले गर्ने छ ” । त्यस पछि अध्यक्ष थापा उठेर आफ्नो निवासमा प्रवेश गर्नु भयो । १८ गते राती नैताहरुलाइ पक्राउ गर्ने , थुन्ने र बन्दी बनाउने योजना बनिसकेको रहेछ ।यसबिछ म मालिगाउबाट आफ्नो घरतिर फर्कदै गर्दा प्रहरीले म संग केहि सोधपुछ गर्दै गर्दा आफू पार्टीको प्रबक्ता भएको परिचय दिएं र आफू पत्रकार पनि भएको परिचयपत्र देखाउदा प्रहरीहरुले अबदेखि भेटघाट बन्द हुन्छ , नआउनु होला भनेका थिए ।

 

यसै बिच पार्टीका केन्द्रीय सदस्य हरु – इन्द्र प्रसाद ढुंगेल ( जो हामी माझ हुनुहुन्न ) , बिष्णु बिक्रम थापा , बाबुराम बस्नेत , रामकृष्ण भट्टराई , सुरेन्द्र के सि . ,बसन्त मान सिंह अधिकारी , चन्द्र कुमारा घुन्टे गुरुङ , लगायत धेरै केन्द्रीय सदस्य पदाधिकारी अध्यक्ष निवास अगाडि आइसक्नुभएको थियो ।सबै जना केहिबेर पछि त्यहाबाट फर्केका थियौ । त्यतिबेला अध्यक्ष थापाका सुपुत्र सुनिल बहादुर थापा संयुक्त राष्ट्र संघीय ” युएनएचसिआर ” को कार्यालय श्रीलंका मा कार्यरत हुनुहुन्थ्यो ।

 

लेखक – नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।