२०८१ बैशाख १४ , शुक्रवार

नेप्सेमा सामान्य शुधार, कारोबार रकम भने घट्यो

सुनाखरी न्युज/ काठमाडौं ।
नेप्से सूचकमा सुस्त सुधार भएको छ । यस दिन सूचक ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा आएको छ ।

१ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  सेयर बजारले अझै पनि गति लिन सकिरहेको छैन । नाफा बुक गरेकाहरु बजार छिर्ने मौका खोजिरहेका छन् । सकेसम्म अझै घटाएर किन्न पाइन्छ भन्ने उनीहरुको मानसिकताका कारण बजारले गति लिन नसकेको हो ।

बजारले निश्चित गति लिन नसकेपछि यतिबेला आम लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसका कारण कारोबार रकम पनि सुस्त भएको छ । बढेका बेला नयाँ र पुराना दुवै प्रकारका लगानीकर्ता सेयर खरिदका लागि उत्साहित हुन्छन्, त्यही भएर खरिदबिक्री रकमले गति लिने गर्छ । यस्तै, बजार घटेका बेला पनि सस्तोमा सेयर उठाउनेहरु सक्रिय बन्छन्, यसले पनि खरिदबिक्री रकमलाई माथि लैजान सहयोग गर्छ ।

तर नेप्से सूचक गतिहीन भएका बेला कारोबार रकम पनि सुस्ताउने गर्छ, किनभने यस्तो बेला अन्योलता पैदा हुन्छ । बजार कता जान्छ भनेर अनुमान गर्न आम लगानीकर्तालाई अप्ठेरो भइरहेको हुन्छ । यही भएर आम लगानीकर्ता पर्ख र हेरकै अवस्थामा बसेका हुन्छन् ।

बजार करेक्सनको चरणमा रहेको छ । बढ्दो ट्रेन्डमा होस् वा घट्दो, बजारले सधैं एउटै गतिमा हुँदैन । बुल रन समाइसकेको अवस्था पनि तलमाथि गर्दै, करेक्सन हुँदै अघि बढ्ने हो । यसर्थ, आम लगानीकर्ताले बजारको प्रवृत्ति, यसको चक्रीय नियमलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । यसैगरी, बैंक ब्याजदर, तरलता अवस्था र आगामी दिनको अनुमान पनि गर्न सक्नुपर्ने जानकारहरु बताउँछन् ।

यस्तै, सेयर बजार सुधारका नीति, प्रविधि र ब्याजदर मुख्य पक्ष हो । बजार सुधारका लागि ब्याजदर घट्दै जानुपर्छ भने बजारसँग सम्बन्धित नीतिनियमहरु सकारात्मक हुनुपर्छ । यसैगरी, नयाँ प्रविधिहरुको पनि विकास हुँदै जान आवश्यक हुन्छ ।