२०८१ बैशाख १३ , बिहिवार

सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रीको नियुक्ति हुँदैन : सचिव साह

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म नयाँ गृहमन्त्री नियुक्त नगर्ने हुनुभएको छ ।

 

मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि कुरा गर्दै पार्टी सचिव गणेश साहले सभापति लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री नियुक्तीका बारेमा निर्णय नहुने बताउनुभएको हो । उहाँले त्यस बेलासम्म गृह मन्त्रालय प्रधानमन्त्री दाहालले आफूसँगै राख्ने स्पष्ट पार्नुभयो । रवि लामिछाने गैरसांसद भइसकेको अवस्थामा उहाँलाई मन्त्री बनाउँदा अन्य गैरसांसदहरुले पनि मन्त्री बन्ने आकांक्षा राख्ने भन्दै उहाँले प्रधानमन्त्रीले सर्वोच्च अदालतको पूर्ण पाठको प्रतिक्षा गर्ने बताउनुभयो ।

 

सचिव साहले माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोजेको बताउनुभयो । उहाँले संविधानको मर्म र भावनालाई पूरा गर्ने विश्वसनीय व्यक्तिलाई राष्ट्रपति बनाउन पार्टीले क्रियाशिलता अगाडी बढाएको स्पष्ट पार्नुभयो । पदाधिकारी बैठकमा नेताहरुले कार्यविभाजन गर्दै तीन महिने कार्यक्रम लिएर जानुपर्ने सुझाव दिएका जानकारी दिनुभयो । माओवादी केन्द्रले बुधबार दिउँसो १ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको बैठकले पार्टी संगठनको सम्बन्धमा ठोस निर्णय गर्ने छ ।