२०८१ बैशाख १४ , शुक्रवार

सञ्चारमाध्यमलाई ‘सेवामूलक उद्योग’को मान्यता दिने प्रधानमन्त्रीको घोषणा

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिई संरक्षण र संवर्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।

 

मंगलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सञ्चार माध्यमको व्यवसायिक र संस्थागत विकासका लागि सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले आम सञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उल्लेख गर्नुभयो ।

 

‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधार निर्माण गर्नुका साथै कानूनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिवद्ध छ । मलाई लाग्छ तपाईहरुले अहिलेको सरकारको व्यवहार, गतिविधिबाट यसलाई आत्मसाथ गर्नुभएकै छ,’ उहाँले भन्नुभयो– ‘सञ्चार माध्यम र सञ्चारकर्मीको प्रवद्र्धन र हीतका निम्ति सञ्चार माध्यमको व्यवसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको छ । आम सञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रुपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति लिइनेछ ।

 

सञ्चारकर्मीहरुको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिवद्ध छ ।’पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभुति गरिने पनि उहाँले बताउनुभयाे । साथै सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमाको व्यवस्था र श्रमजीवि पत्रकारका लागि निर्मित कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्नुलाइ राज्यको दायित्वको रुपमा स्थापित गरिने समेत उहाँले बताउनुभयाे ।

 

प्रधानमन्त्री दाहालले श्रमजीवि पत्रकारका लागि निर्मित कानूनहरुको प्रभावकारी कार्यान्वयन गरिने र सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रुपमा स्थापित गरिने बताउनु भयो । उहाँले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारण गरेर अगाडी बढेको उल्लेख गर्नुभयो । लोकतन्त्रको सुदृढिकरण, संविधानको रक्षा, अर्थतन्त्रको सुधार र जनसेवा सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारको कार्यभारलाई व्यवस्थित रुपले संप्रेषण गर्न आग्रह गर्नुभयो ।