२०८१ बैशाख १५ , शनिवार

नेपाल टेलिभिजन ३८औं बर्षमा प्रवेश, ‘एनटिभी वर्ल्ड’ संचालन गर्ने तयारी

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिभिजन स्थापना भएको ३८ बर्ष पूरा भएको छ । २०४१ साल माघ १७ गते परियोजनाका रुपमा स्थापना भएको नेपाल टेलिभिजनले २०४२ साल साउन २९ गते पहिलोपटक परिक्षण प्रसारण सुरु गरेको थियो ।

 

२०४२ साल पुष १४ गतेबाट दैनिक दुइ घण्टा प्रसारण प्रारम्भ गरेको टेलिभिजनका हाल २४ सै घण्टा प्रसारण हुनेगरी पाँच वटा च्यानल संचालनमा छन् । प्रसारण प्रारम्भकै दिनमा १० मिनेटको समाचार प्रसारण गरेको नेपाल टेलिभिजनले हाल दैनिक २० वटा बुलेटिन प्रसारण गर्दै आएको छ । दर्शकको चाहना र भौगोलिक क्षेत्रअनुसार छुट्टा छुट्टै च्यानलहरु समेत संचालन गर्दै आएको नेपाल टेलिभिजनले मनोरञ्जन, खेलकुद तथा युवाहरुलाइ लक्षित गरेर एनटीभी प्लस संचालन गरिरहेको छ । समाचार र समाचारमूलक कार्यक्रमहरु, फरक फरक विषयकाअन्तर्वार्ता, टेलिभिजन म्यागाजिन, डकुमेन्ट्री लगायतका कार्यक्रमहरु समाचार च्यानलबाट प्रसारण हुने गरेका छन् । एनटीभीबाट समाचारमूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुने गरेको छ ।

 

नेपालमा संघीयता लागु हुनु अघि पनि प्रसारणलाइ विकेन्द्रीकरण गरेको टेलिभिजनले हाल इटहरी र कोहलपुर प्रसारण केन्द्र संचालनमा ल्याएको छ । यी केन्द्रबाट स्थानीय भाषाभाषीमा स्थानीय गतिविधिलाइ समेत प्राथमिकतामा राखेर प्रसारण गर्ने गरेको छ । केही समयभित्र ‘एनटिभी वर्ल्ड’ संचालन गर्ने तयारी गरेको नेपाल टेलिभिजनले आफ्ना कार्यक्रम उत्पादन तथा समाचारको प्रस्तुती शैली लगायतमा समयानुकुल परिमार्जन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै सातै प्रदेशमा भएको जाति तथा भाषागत बाहुल्यताका आधारमा प्रदेश नम्बर १मा लिम्बु, प्रदेश नम्बर दुइमा मैथली, बागमतीमा तामाङ, गण्डकीमा गुरुङ, लुम्बिनीमा थारु, कर्णालीमा खस नेपाली र सुदूर पश्चिमाञ्चल प्रदेशलाइ केन्द्रित गरेर डोटेली भाषाका समाचार प्रसारण गर्ने तयारी गरेको छ । यी मध्ये इटहरी च्यानलबाट मैथली र लिम्बु भाषामा, काठमाडौमा रहेको समाचार च्यानलबाट तामाङ र गुरुङ तथा कोहलपुर च्यानलबाट थारु, खस नेपाली र डोटेली भाषाका समाचार प्रसारण गर्ने तयारी गरिएको छ ।

 

विश्वमा प्रविधिले फड्को मारेसँगै नेपाल टेलिभिजनमा पनि नयाँ नयाँ प्रविधि थपिदै गएको छ । जसअनुसार टेलिभिजनका पाँच वटै च्यानल एचडी प्रविधिमा प्रसारण भइरहेका छन् । भू-सतही प्रसारण प्रणाली अन्तर्गत नेपाल टेलिभिजनले आप्ना १९ वटा प्रसारण केन्द्र मार्फत् देशभरको ५० प्रतिशत भूगोल र ७२ प्रतिशत जनसंख्यामा सेवा पुर्याइरहेको छ । भू-सतही प्रसारणप्रविधि मार्फत सुरु भएको नेपाल टेलिभिजनले २०५८ सालदेखि भू-उपग्रह मार्फत् प्रसारण सुरु गरेको थियो । भू-उपग्रह प्रसारण प्रविधि मार्फत विश्वका १ सय ४० देशमा र मोवाइल एप तथा अनलाइन भर्सनमार्फतपनि विश्वभरि नै नेपाल टेलिभिजनलाई हेर्न सकिन्छ ।

नेपालकै पहिलो टेलिभिजनका रुपमा स्थापना भएको नेपाल टेलिभिजनका एनटीभी (२०४१ माघ १७ गते), एनटीभी प्लस (२०६२ असोज १ गते), एनटीभी न्यूज (२०७१ कार्तिक १ गते), एनटीभी कोहलपुर (२०७४ बैशाख) र एनटीभी इटहरी च्यानल (२०७६ माघ १७ गते) संचालनमा छन् ।