२०८० चैत्र १५ , बिहिवार

प्रहरी हिरासतको पर्खाल भत्काएर धनुषामा ६ थुनुवा फरार

सुनाखरी न्युज/ धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर थुनुवाहरु फरार भएका छन् । लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका हुन् ।

 

पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए ।थुनुवा फरार घटनाको छानविनकालागि समिति गठन गरिने र फरारहरुको खोजि गर्न विशेष टोली खटाइएको खडकाले बताए ।

 

प्रहरी हिरासतमा रहेका लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । हिरासतबाट फरार ६ जनालाई म्याद थप गराएर अनुसन्धानका लागि हिरसातमा राखिएको थयो ।

 

थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेचन यादव विवादमा तानिएका छन् । लामो समय देखि इलाका प्रहरी कार्यालय महेन्द्र नगरको इन्चार्जमा रहेका यादव यसअघि पनि पटकपटक विवादमा तानिएका छन् । यादव यसअघि महिला प्रहरीलाई दुर्व्यवहार गर्दा विवादमा तानिएका थिए ।